Monday, November 23, 2015

काँग्रेस महामन्त्री सिंह र तमलोपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

भक्तपुर, ७ मङ्सिर । तराईको समस्या समाधानका लागि नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंह र काँग्रेस पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले आज तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवम् मधेसी मोर्चाका नेता महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ ।

भक्तपुरको सानोठिमीस्थित ठाकुर निवासमा भएको दुई पक्षीय भेटमा काँग्रेस महामन्त्री सिंहले मधेसको परिस्थिति बिग्रँदै गएको, जनजीवन कष्टकर भएको र नाकाबन्दीले निकै जटिलता ल्याएकाले समस्याको छिटो निकास निकाल्न ठाकुरलाई आग्रह गर्नुभएको थियो ।

महामन्त्री सिंहलाई उद्धृत गर्दै सिंहका स्वकीय सचिव युपी लामिछानेले ठाकुरले अहिलेको जटिल परिस्थितिमा सरकार गम्भीर बन्न नसकेको बताउनुभएको जानकारी दिनुभयो ।

भेटमा ठाकुरले भन्नुभयो – “परिस्थिति गम्भीर बन्दै गएको छ । अब परिस्थिति बिग्रन दिनु हँुदैन । सरकार जिम्मेवार भएन । अघिल्लो सरकारले गरेको निर्णय घाइतेको उपचार, मृतकलाई क्षतिपूर्ति दिने, झूटा मुद्दा फिर्ता लिने काम पनि सरकारले गरेन । सरकारले न्यूनतम वार्ताको वातावरण बनाएन ।”

ठाकुरले मधेस समस्या समाधानका लागि गम्भीर भएर लाग्न र अग्रसरता लिन नेपाली काँग्रेसलाई आग्रह गर्नुभएको लामिछानेले जानकारी दिनुभयो । “हाम्रो बटम लाइन सीमाङ्कन नै हो, समग्र मधेसको समस्या प्याकेजमै समाधान खोजेर अगाडि बढौँ भनेका छाँै, हाम्रो मागको बेवास्ता भयो,” ठाकुरले भन्नुभयो । मधेस आन्दोलन सुरु भएको एकसय दिन बित्दा पनि सरकार गम्भीर नबनेकामा उहाँले दुःख व्यक्त गर्नुभएको थियो । ठाकुर निवासमा डेढ घन्टा भएको भेटमा मोर्चाका तर्फबाट भने ठाकुरको मात्रै सहभागिता थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts