Thursday, November 19, 2015

शरणार्थी समस्या नेपालको मात्र होइन : प्रधानमन्त्री

काठमाडौँ, ३ मङ््सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भूटानी शरणार्थी समस्या नेपालको मात्र चिन्ता र चासोको विषय नभई समग्र विश्वकै समस्या भएको बताउनुभएको छ ।

तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत एक लाख भुटानी शरणार्थीलाई विश्वका आठ मुलुकमा सफलतापूर्वक पुनर्वास गरिएको सन्दर्भमा यहाँस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन र शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

झण्डै अढाइ दशकदेखि नेपालले झेल्दै आएको भुटानी शरणार्थीे समस्या र त्यसको समाधान गर्न विश्व समुदायले गरेको सहयोगको सराहना गर्दै प्रधानमन्त्री ओलीले बाँकी रहेका करिब १८ हजार शरणार्थीलाई पनि सोही कार्यक्रमअन्तर्गत पुनर्वासको व्यवस्था गर्नुपर्ने धारणा राख्नु भयो ।

“हामी भूटानी शरणार्थी समस्या समाधान गर्न चाहन्छौँ, यो साझा समस्या भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न नेपाल सरकार तत्पर छ,” शरणार्थी पनि विश्व परिवारका सदस्य भएका उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो ।

भुटानी शरणार्थीलाई ससम्मान घर फर्काउन धेरै चरणमा भूटान सरकारसँग वार्ता भएको तर त्यसले कहिल्यै निकास नपाएपछि आफू उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री हुँदा तेस्रो मुलुक पुनर्वासको नयाँ सोचका साथ अन्तर्राष्ट्रिय जगत्सँग छलफल चलाएको र त्यसैको परिणामस्वरुप आज एक लाख शरणार्थी तेस्रो मुलुकमा पुनःस्थापित भएका उहाँले बताउनुभयो ।

“मानवीय सङ्कट समाधानतर्फ उन्मुख भएकामा म प्रशन्न छु,” आफूले परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेको समयमा नै अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन नेपालमा स्थापना भई त्यसले शरणार्थी समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सुनाउँदै उहाँले भन्नुभयो ।

दक्षिणी भुटानबाट बलपूर्वक लखेटिएका नेपाली भाषी भुटानीलाई नेपाल सरकारले मानवताका आधारमा शरण दिएको बताउँदै उहाँले भारतको बाटो भएर आएका उनीहरूलाई नेपालले नाका बन्द गरेर आउन नदिन सक्थ्यो तर त्यसो गरेन भन्नुभयो ।

नेपालका लागि अमेरिकी राजदूत र अष्ट्रेलियाली राजदूत क्रमशः अलाइना टेपलिट्ज र ग्लेन ह्वाइटले एक लाख शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गराउन सक्नु ठूलो उपलब्धि भएको बताउनुभयो ।

राजदूतद्वयले नेपाल सरकार, अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाज, स्थानीय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहयोगमा एक लाख शरणार्थीको व्यवस्थापन गर्न संभव भएको चर्चा गर्नु भयो ।

कार्यक्रममा सात वर्षअघि अमेरिकामा पुनःस्थापित भएका दिलीप दाहाल र चाँडै नै उक्त मुलुक जान लागेकी देवीमाया थापाले आफूहरूले शरणार्थीका रुपमा जीवन यापन गर्दाका कारुणिक कथा सुनाउनुभएको थियो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार अमेरिकाले ८४हजार ५००, क्यानाडाले छ हजार ५००, अष्ट्रेलियाले पाँच हजार ५५४, न्युजिल्याण्डले एक हजार दुई, डेनमार्कले आठ सय ७४, नर्वेले पाँच सय ६६, बेलायतले तीनसय ५८ र नेदरल्यान्डस्ले तीनसय २७ जनालाई पुनर्वास गराएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts