Thursday, November 12, 2015

जायज माग सम्बोधन गर्न सरकार तयार ः प्रम ओली

काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
नेपाल संवत ११३६ न्हूदँ राष्ट्रिय समारोह समितिले आज बसन्तपुरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
“दुई जना सडकमा निस्केर करोडौँ नेपालीको भावना विपरीत माग राखेमा सरकारले सम्बोधन गर्न सक्दैन, नेपाललाई नोक्सान हुने विषयमा सरकारले काम गर्दैन, धेरै जनताले चाहेको माग पूरा गर्न सरकार उदार र फराकिलो छ” – उहाँले भन्नुभयो ।
नेपालीबाट नेपालकै भूमिमा सुरु भएको नेपाल संवत मौलिक भएको बताउँदै प्रधानमन्त्री ओलीले सामाजिक जीवन सहज र सरल बनाउन नेपाल संवतले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो – “नेपाल इतिहासदेखि नै आफ्नै गौरव र स्वाभिमानमा बाँच्दै आएको छ । यसले कहिल्यै अरुको उपनिवेश एवम् पराधीनता स्वीकारेन । नेपालको स्वाधीनता सगरमाथा जस्तै उँचो छ र रहिरनेछ ।”
भूकम्प र संविधान जारी भएपछिको नाकाबन्दीको समस्याबाट मुलुकलाई माथि उठाउन सबै दल एकजुट हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो । यसका लागि नेपाली काँग्रेसलगायत सबै दललाई सरकारमा सामेल हुन उहाँले आह्वान गर्नुभयो ।
कार्यक्रममा समितिका अध्यक्ष डा महेशमान श्रेष्ठले विगतमा नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिने, शंखधर साख्वाःको हुलाक टिकट प्रकाशन गर्ने लगायतका थुप्रै सराहनीय काम भएजस्तै अबको सरकारले समितिका तर्फबाट विगतमा प्रस्तुत आठ बुँदे मागलाई पनि कार्यान्वयनमा लान तदारुकता देखाउनुपर्ने बताउनुभयो ।
कार्यक्रम संयोजक सुजीब बज्राचार्यले नव वर्ष प्रारम्भ भएको दिनमा मात्र नभै देशभर हरेक महिना क्रमिक रुपले विविध कार्यक्रमहरु आयोजना गरेर उत्सव मनाउनुपर्ने धारणा प्रकट गर्नुभयो ।
यस अघि काठमाडौँ उपत्यकाका विभिन्न धार्मिक, सांस्कृतिक र साहित्यिक संङ्घसंस्थाहरु सम्मिलित विशाल सांस्कृतिक ¥यालीले काठमाडौँको भित्री सहर परिक्रमा गर्दै शुभकामना बाँडेको थियो । वसन्तपुरबाट सुरु भएको उक्त ¥याली त्यहीँ आएर समापन भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts