काठमाडौँ, १३ मङ्सिर । नेपाल विश्व सम्बन्ध परिषद्ले तराई मधेसमा जारी बन्द, हडताल र अवरोध कसैको हितमा नरहेकोले सबै पक्ष मिलेर वार्तामार्फत समस्याको निकास खोज्न सबैलाई आग्रह गरेको छ ।
छ दशक लामो नेपाली जनताको चाहनाअनुसार गत असोज ३ गते जारी भएको संविधानका राम्रा पक्षलाई ओझेलमा पारी केही नराम्रा पक्षलाई मात्र अगाडि ल्याएर संविधानलाई कमजोर पार्न खोजिएको परिषद्को ठहर छ ।
परिषद्द्वारा आज प्रकाशित विज्ञप्तिमा भनिएको छ, “संविधान असंशोधनीय छैन यसलाई नै पूर्ण मान्नु हुँदैन, चित्त नबुझेको ठाउँमा संशोधान गर्नसक्ने प्रावधान खुल्ला हुँदाहुँदै पनि अहिलेको अवस्था आउनु कसैको हितमा छैन ।”
संविधानमा भएका राम्रा पक्षका बारेमा मधेसी जनतालाई बुझाउन नसक्दा अहिले विकराल अवस्था सिर्जना भएको परिषद्ले जनाएको छ ।
संविधानको गलत अर्थ लगाई तराई–मधेसका केही राजनीतिक दलको अगुवाइमा भइरहेको राजनीतिक आन्दोलनले उग्ररुप लिइरहेकाले यसलाई समयमै समाधान गर्नुपर्ने परिषद्को भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, “नेपालीलाई नै मोहोरा बनाएर गरिएको अघोषित नाकाबन्दीले नेपाली र भारतीय जनताबीच रहेको सौहार्द सम्बन्धलाई कटुतामा परिणत गरेको छ । वर्तमान समस्या समाधान वार्ताका माध्यमबाट गरिनुपर्छ ।”
तराई मधेसको आन्दोलनसँगै छिमेकी मुलुक भारतले चालेको कदमले नेपाली जनतामा आइपरेको विषम परिस्थितिलाई राजनीतिक पहलमार्फत कूटनीतिक तवरमा समाधान गर्न सकिने परिषद्को आशा छ । रासस
No comments:
Post a Comment