Monday, November 16, 2015

प्राचीन र मल्लकालका भौतिक संरचना फेला

भक्तपुर, ३० कात्तिक । भूकम्पले भत्काएको ऐतिहासिक सम्पदाको उत्खनन गर्ने क्रममा प्राचीन र मल्लकालका भौतिक संरचना फेला परेको छ ।

कात्तिक २१ गतेदेखि सुरु गरिएको भक्तपुरको दरबार स्क्वायर क्षेत्रको उत्खननमा फेला परेको वस्तुको आज सार्वजनिक गरिएको हो ।
आजसम्म भएको उत्खननका क्रममा युनेस्कोको सहयोगमा पुरातत्व विभाग, भक्तपुर नगरपालिका, राष्ट्रिय कला सङ्ग्रहालय, दुर्हम विश्वविद्यालय, बेलायतका पुरातत्वविद् र संरचनाविद्को टोलीले गरेका सर्भेक्षण तथा उत्खननबाट प्राचीन वत्सला मन्दिर अगाडि ठूलो भवन रहेको पत्ता लागेको छ ।

उत्खननबाट वत्सला मन्दिरको जग विसं १९९० र त्यसअघिका भूकम्पबाट कमजोर रहेको फेला परेको र त्यही जगमा मन्दिर पुनःनिर्माण गरिएका कारण वैशाख १२ को भूकम्पमा भत्किएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

टोलीले भक्तपुर दरबार स्क्वायर प्राङ्गणमा जमिनभित्र अज्ञात रूपमा रहेका पुरातात्विकस्थल र वस्तुको सुरक्षाका लागि नक्सा बनाउन ‘ग्राउन्ड पेनेट्रेटिङ राडर’ नामक अत्याधुनिक औजार प्रयोग गरी अनुसन्धान गरेको थियो ।

उत्खननका क्रममा दरबार क्षेत्रको कालक्रम र सांस्कृतिक विकासक्रम पत्ता लगाउनाका साथै संरचनाको जग, इतिहास, बनोट पत्ता लागेको पुरातत्वविद् एवम् विभागका पूर्वमहानिर्देशक कोषप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उत्खननबाट लिच्छविकालको अभिलेख, मूर्ति, वास्तुको अवशेष, माटाको भाँडा छोप्ने सामग्री, झिँगटी, प्राचीन इँटा, ढुङ्गा, १९६८ सालको सिक्का, महिलाले प्रयोग गर्ने चुरा, अँगार, लकेटलगायत सामग्री फेला परेको र जिओआर्कोलोजिकल नमुना पनि सङ्कलन गरिएको छ ।

उत्खननका क्रममा फेला परेका सामग्रीको युनेस्कोले अनुसन्धानका लागि प्रयोगशालामा लैजाने र वास्तविक मिति एवम् थप तथ्य पत्ता लगाइने भएको छ ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सम्पदा क्षेत्रको उत्खननका विषयलाई खोज र अनुसन्धानको विषय बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा सभासद् प्रेम सु्वाल, नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजाल, पुरातत्व विभागका अधिकृत रामबहादुर कुँवर, दुर्हम विश्वविद्यालयका प्रा रविन कनिङ्घमलगायतले गत वैशाखको भूकम्पले भत्किएको संरचनाको जग कमजोर रहेकाले विगतमा निर्माण गर्दा प्राविधिक त्रुटि फेला परेको पाइएको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts