काठमाडौँ, २६ कात्तिक । नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले नेपालीहरूको दोस्रो महान् चाड दीपावली, नेपाल सम्वत् ११३६ र छठलगायतका चाडको सुखद उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
कार्यबाहक सभापति पौडेलले आज शुभकामना विज्ञप्ति जारी गरी बहुभाषा, बहुसंस्कृति, बहुजाति र आफ्नै विशिष्ट मौलिक परम्परा भएको हाम्रो देशमा यस प्रकारका पर्वहरूले आपसमा मित्रता, एकता र सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुका साथै दिदीबहिनी र दाजुभाइबीचको आपसी मायाको प्रतीकका रूपमा रहेको दीपावलीले नयाँ उमङ्ग र उत्साह बढाउन सहयोग पुग्ने बताउनुभएको छ ।
नियन्त्रित सामान आपूर्तिले नेपालीको दैनिक जीवनयापन कष्टकर बनेको बेलामा चाडपर्व मनाउनु परेको भए पनि धैर्य र खुसीका साथ आपसमा खुसियाली साट्दै आपसी विश्वास, समझदारी र संवादको साथ मुलुकसामु देखिएका सबै प्रकारमा समस्या समाधान गर्न यस प्रकारका चाडपर्वले हामीमा उत्साह र प्रेरणा दिने विश्वास पनि कार्यबाहक सभापति पौडेलले शुभकामना वक्तव्यमा व्यक्त गर्नुभएको छ । रासस
No comments:
Post a Comment