काठमाडौँ, २९ कात्तिक । गत वर्षको तुलनामा यस वर्षको दसैँ र तिहारमा काठमाडौँ उपत्यकामा सडक दुर्घटना कम भएका छन् ।
यस वर्ष काठमाडौँ, ललितपुर र भक्तपुरमा दसैँ र तिहारको समय असोज र कात्तिक महिनामा ५६९ सडक दुर्घटना भएका छन्् । गत वर्ष दसैँ र तिहार (असोज र कात्तिक) मा ८२६ सडक दुर्घटना भएका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विगतको तुलनामा यस वर्ष मादक पदार्थ सेवन(मापसे)जाँच कडाइ गरिएका कारण पनि सडक दुर्घटनामा कमी आएको हो ।
“यस वर्षको तिहारमा दुर्घटना नहोस् भन्नाका लागि लक्ष्मीपूजाको दिनदेखि नै साँझ ६ः०० बजेदेखि बिहान ०४ बजेसम्म उपत्यकाका विभिन्न स्थानमा कडाइका साथ जाँच गरिएको थियो, त्यसले पनि दुर्घटनामा कमी आएको हो”, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता पोषराज पोखरेलले भन्नुभयो ।
यस वर्षको दसैँमा सडक दुर्घटनाबाट सात जनाको मृत्यु भएको छ । तिहारमा भने सडक दुर्घटना भए पनि मृत्यु भने भएन । असोजमा भने १३ जनाको मृत्यु भएको छ । असोज र कात्तिक महिनामा ३९ जना गम्भीर घाइते तथा ४७३ जना साधारण घाइते भएका छन्् । गत वर्षको दसैँमा १४ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । तिहार (कात्तिक) मा नौ जनाको मृत्यु भएको थियो । त्यसै गरी गत वर्ष असोज र कात्तिकमा ३४ जना गम्भीर घाइते तथा ६०२ जना साधारण घाइते भएका थिए ।
प्रवक्ता पोखरेलका अनुसार विगतका वर्षभन्दा यस वर्ष मापसे गरेर सवारी चलाउनेको सङ्ख्यामा कमी आएको छ । नेपालमा संविधान जारी भएलगत्तै करिब दुई महिनादेखि तराईमा भएको बन्दहड्ताल र अघोषित रूपमा भारतले लगाएको नाकाबन्दीले इन्धन अभावसँगै सवारी आवागमनमा कमी भएपछि दुर्घटनामा पनि केही कमी आएको प्रवक्ता पोखरेलले बताउनुभयो ।
काठमाडौँ उपत्यकाको तुलनामा इन्धनको अभाव भएका कारण नेपालीको महान् चाड दसैँ र तिहारका समयमा विभिन्न जिल्लामा यात्रुहरू झुन्डिएर यात्रा गरेको पाइन्थ्यो । इन्धन अभावले क्षमताभन्दा बढी यात्रु बोकेकाका कारण पनि पछिल्लो पटक विभिन्न जिल्लामा सवारी दुर्घटना हुने गरेको पाइन्छ ।
यस वर्ष दसैँ तिहारमा चार हजार ८६७ मादकपदार्थसेवीलाई कारबाही गरिएको छ । त्यसैगरी गत वर्षको दसैँतिहारमा छ हजार ६५३ मापसेवीलाई कारबाही गरिएको थियो । मापेस जाँच गर्न सुरू (२०६८ साल) गरेदेखि हालसम्म काठमाडौँ उपत्यकामा मात्र एक लाख १८ हजार ३२० मापसेवीलाई कारबाही गरिएको छ । मापसे जाँचबाट हालसम्म रु ११ करोड ८३ लाख २० हजार राजस्व सङ्कलन गरिएको छ ।
मापसे जाँच भएको सुरूका दिनहरूमा जरिवानाका लागि निश्चित रकम नतोकिए पनि पछिल्लो पटक चालक अनुमतिपत्रबिना मापसे गरी सवारी चलाउनेलाई रु दुई हजार र मापसे गरी चलाउनेलाई रु एक हजार जरिवाना तोरिएको छ ।
मापसे गरेर सवारी चलाउनेलाई प्रहरीले कारबाही गर्न सुरू गरेपछि अनामनगरका रञ्जित महर्जनले आफूले मापेस गरेका समयमा सवारी चलाउन छाडेको बताउनुभयो । मुख्य गरी सवारी साधन बढेअनुसार सडक विस्तार नभएको, जथाभाबी बाटो काट्ने पैदल यात्रु र तीव्र गतिका कारण पनि उपत्यकामा सवारी दुर्घटना हुने गरेको प्रवक्ता पोखरेलको भनाइ छ ।
सवारी चालक सुमन थापा उपत्यकाका धेरै सडक साँघुरा भएको र त्यही सडकमा सबै खालका सवारी साधन चलाउनुपर्ने भएकाले पनि सडक दुर्घटना हुने गरेको धारणा राख्नुहुन्छ । उपत्यकामा ट्राफिक नियमको उल्लङ्घन गर्दै जथाभाबी मोटरसाइकल चलाउने भएका कारण पनि सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा पर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । रासस
No comments:
Post a Comment