रत्ननगर (चितवन), १ मङ्सिर । चितवनमा अहिलेको यामलाई पुग्ने गरी पर्याप्त मल भित्रिएको छ । कृषि सामग्री कम्पनीका अनुसार जिल्लाका लागि ५ सय मेट्रिक टन मल आएको जनाएको छ । प्रतिटन २० बोरा मल हुन्छ ।
“यो सिजनलाई मल पर्याप्त आएको छ, किसानहरुलाई ढुक्क हुन म आग्रह गर्दछु,” कम्पनीका प्रमुख रवीन्द्र गौतमले भन्नुभयो – “वितरण सुरु भैसकेको छ ।”
मुख्य गरी गहुँका लागि मलको अभाव थियो । तोरी फुल्ने बेला भएपनि किसानले पर्याप्त मल पाउन सकेका थिएनन् । आजदेखि वितरणसमेत सुरु भैसकेको छ । जिल्लामा १०७ सहकारी संस्थाबाट मल बिक्री हुँदै आएको छ ।
बीसवटा सहकारीलाई प्रति सहकारी एक सय बोराका दरले मल वितरण भैसकेको र बाँकी सहकारीलाई पनि नियमित रुपमा वितरण हुने कम्पनी प्रमुख गौतमले जानकारी दिनुभयो । वीरगञ्जको जयपुर नाकाबाट मल आएको उहाँको भनाइ छ ।
जिल्लामा अझै इन्धन अभावका कारण किसानले जोतेर माटो बनाउन भने नपाएको कृषि कार्यालय प्रमुख सोमनाथ घिमिरेले जानकारी दिनुभयो । किसान लोकबहादुर मगरले मल र इन्धन अभावले किसानलाई मार परिरहेको बताउनुभयो ।
अहिले इन्धन पनि प्रशासनको समन्वयमा कृषि कार्यालयले सहकारीमार्फत कुपन प्रणालीमा बाँडिरहेको घिमिरे बताउनुहुन्छ ।
चितवनमा मल भने कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशतको अनुपातमा बिक्री गर्दै आएको छ । रासस
No comments:
Post a Comment