काठमाडौँ, २ मङ्सिर । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले मुलुकमा आन्तरिक समस्या समाधान नभएसम्म दिगो शान्ति र विकास सम्भव नभएको बताउनुभएको छ ।
नेपाल चलचित्र युवा मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानले उत्पीडित, दलित तथा पछाडि परेका वर्गको आशा र अपेक्षालाई पूरा गर्न नसकेकाले अहिले देशमा आन्तरिक कलह र द्वन्द्व बढेको बताउनुभयो ।
महासचिव थापाले भारतले गरेको नाकाबन्दीका कारण देशमा बिरामीले औषधिसमेत नपाई मृत्युवरण गर्न परेकामा चिन्ता व्यक्त गर्दै यस्तो अवस्थामा सबै दलहरु एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सर्वसाधारण जनतालाई आवश्यक पर्ने उपभोग्य सामग्रीको सहज आपूर्तिका लागि उचित विकल्प खोज्नुपर्ने बताउँदै देशमा रोजगारीको अवसर नहुँदा आधा जनसङ्ख्या विदेशिन बाध्य भएको त्यसले परनिर्भरतालाई बढाएको बताउनुभयो ।
सो अवसरमा महासचिव थापाले मुलुकको वर्तमान राजनीतिक अवस्थासँगै नाकाबन्दीले ल्याएको इन्धन अभाव र त्यसबाट प्रताडित नेपाली जनताको अवस्थालाई समेटिएको चलचित्र ‘मनको उजुरी’ निर्माणका लागि शुभारम्भ गर्नुभयो । रासस
No comments:
Post a Comment