काठमाडौँ, ३ मङ्सिर । मधेसमा भइरहेको आन्दोलन र भारतले लगाइरहेको नाकाबन्दी अन्त्य गर्नका लागि प्रधानमन्त्री भारत र उपप्रधानमन्त्रीहरु मधेस जानु पर्ने बुद्धिजीवीले सुझाव दिनुभएको छ ।
बिपी चिन्तन प्रतिष्ठानले राजधानीमा आज गरेको कार्यक्रममा बोल्ने बुद्धिजीवीले प्रतिशोधको भावनाले भन्दा पनि कूटनीतिक तथा राजनीतिक तरिकाले समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको हो ।
कार्यक्रममा कूटनीतिज्ञ यादवकान्त सिलवालले हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओली भारत गएर त्यहाँका प्रधानमन्त्रीसँग सिधै र सौहार्दतापूर्वक छलफल गरेमा समस्याको समाधान हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अरुमार्फत यहाँबाट कुरा गर्दा प्रभावकारी संवाद हुन नसकेकाले निकास निस्कन नसकेको उल्लेख गर्नुभयो ।
अर्का बुद्धिजीवी रामदयाल राकेशले संविधान बनाएका शीर्ष नेताहरु संविधान बनाएपछि मधेसमा नगएकाले आन्दोलन चर्किदै गएको धारणा राख्नु भयो । उहाँले छवटै उपप्रधानमन्त्रीलाई मधेसी सांसदसहित तराईका विभिन्न क्षेत्रमा जान सुझाव दिनुभयो । “उहाँहरु गएर जनताको कुरा सुन्ने र आफ्ना कुराहरु पनि राख्ने गरेमा दुवै पक्षको मानसिकतामा परिवर्तन आएरबीचको बाटो पत्ता लाग्न सक्थ्यो” राकेशले भन्नुभयो ।
मधेस मामिलाका जानकार रामजीवन सिंहले अघोषित नाकाबन्दी खुलाउन अघोषित वार्ता गर्नुपर्नेमा जोड दिनुभयो । भारतप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “घोषित वार्ता असफल भइसकेकाले अब अघोषित वार्ता गर्नु पर्दछ ।”
मधेसी नेताहरुले मधेसलाई टुक्र्याउन लागेको भन्ने आरोपलाई अर्का बुद्धिजीवी वीरेन्द्र मिश्रले पूरै अस्विकार गर्नुभयो । मधेसले अधिकार पाएमा टुक्रिनुपर्ने कुनै कारण नहुने भन्दै उहाँले अधिकार नपाएमा झन टुक्रिने बाध्यता र खतरा बढ्ने तर्क गर्नुभयो ।
कार्यक्रममा कूटनीतिज्ञ डा जयराज आचार्य, डा शम्भु सिंखडा, पूर्वसचिव जनार्दन नेपाल, प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराई, उपाध्यक्ष पुष्प पराजुली, महासचिव देवेन्द्र पौडेललगायतले मधेसको समस्या समाधानका लागि मधेसमै गएर अन्तक्र्रिया गर्नुपर्नेमा जोड दिनुभएको थियो । रासस
No comments:
Post a Comment