नेपालगन्ज, ५ मङ्सिर । आज नेपालगन्जमा आयोजित पिस म्याराथन –२०१५ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जित्नुभएको छ ।
क्रियटिभ ह्याण्ड्स संस्थाले सञ्चालन गरेको म्याराथन प्रतियोगितामा सशस्त्र प्रहरीका गणेशसिंह ठकुरी र दानबहादुर धामी क्रमशः द्धितिय र तृतिय हुनुभएको छ ।
त्यसैगरी, १० किलोमिटर महिला मिनी म्याराथनको उपाधि सशस्त्रकी कृष्णेश्वरी सिन्तकलाले जित्नुभयो भने जुम्लाकी सुनमाया बुढा र पूर्णलक्ष्मी न्यौपाने क्रमशः द्वितीय र तृतीय हुनुभयो ।
त्यस्तै, पाँच किलोमिटर विद्यालयस्तरीय छात्रतर्फ सागर बुढाथोकी (बाँके) प्रथम, आर्टिस चौधरी (बाँके) द्वितीय र युवराज ऐडी (कालीकोट) तृतीय तथा छात्रातर्फ मञ्जु रावत (जुम्ला) प्रथम, कमला जैसी (बाँके) द्वितीय र सरस्वती पाण्डे (कालीकोट) तृतीय हुनुभयो ।
प्रतियोगितामा शारीरिक रुपमा अशक्तहरु सम्मिलित दुई किलोमिटर ट्राइसाइकल दौडमा यज्ञबहादुर खत्री, थमन चौधरी र मालती बनियाले शीर्ष तीन स्थान हासिल गर्नुभएको थियो ।
शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ आयोजना भएको सो प्रतियोगिता तथा बहुभाषिक शान्ति सद्भाव उत्सवको गृहमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगिताका विजयीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमाल, सदस्य उपेन्द्र पौडेल, स्थानीय शान्ति समितिका संयोजक कृष्णमान श्रेष्ठले नगद, पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रासस
No comments:
Post a Comment