Sunday, November 1, 2015

बसामाडी दुर्घटनाको एक वर्ष : परिवारले अझै पाएनन राहत र क्षतिपूर्ति

इलाम, १५ कात्तिक । एक वर्षअघि आजकै दिन मकवानपुरको बसामाडीस्थित बस्तीपुरमा भएको बस दुर्घटनामा ज्यान गुमाएका इलामे मृतकका परिवारले अझै क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।

इलामबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ४८८१ नम्बरको मेट्रो डिलक्स र काठमाडौँबाट विराटनगरतर्फ आउँदै गरेको ना४ख ५४४८ नम्बरको शुभश्री ट्राभल्सले ठक्कर दिँदा इलामका आठसहित १० जनाको ज्यान गएको थियो ।

घटनामा मृत्यु भएका मृतकको हकमा सरकारले दिनुपर्ने क्षतिपूर्ति तथा राहत र व्यवसायीले दिनुपर्ने काजक्रिया खर्च तथा बीमा रकम उपलब्ध नभएको भन्दै मृतकका परिवारले गुनासो गरेका हुन् । पटक–पटक क्षतिपूर्ति र बीमा रकम उपलब्ध गराउन माग गरिए पनि नभएको भन्दै मृतक परिवारले प्रशासनको ध्यानाकर्षण गरेका छन् ।

मकवानपुर जिल्ला अदालतले पनि गत असार महिनामा मृतक परिवारलाई क्रियाखर्च र बीमा रकम तुरुन्तै उपलब्ध गराउन र बीमा र क्रियाखर्च उपलब्ध नगराए सम्बन्धित बस कम्पनीको इजाजतसमेत रोक्काका लागि आदेश दिए पनि अझै कार्यान्वयन नभएको मृतक रोशन भट्टराईका बुबा माधवप्रसाद भट्टराईले भन्नुभयो ।

सो घटनामा इलाम नगरपालिका–८ का रोशन भट्टराई, इनपा–४ का ईशा कार्की, इनपा–६ का प्रिजज दहाल, इनपा–२ की रक्षा श्रेष्ठ, बरबोटेका प्रवीन आचार्य, देवीमाया तोलाङ्गी, नामसालिङ–४ का मिलन अधिकारी र इनपा–२ की सुजाता काफ्लेको मृत्यु भएको थियो । घटनापछि इलाम शोकाकुल बनेको थियो ।

राज्य र सम्बन्धित पक्षले अहिलेसम्म मृतकका परिवारलाई उपलब्ध गराउनुपर्ने क्षतिपूर्ति, बीमा र क्रियाखर्च बापतको रकम नपाएपछि मृतकका परिवारले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts