Sunday, November 15, 2015

आइसिसी क्रिकेट नेपाल र पपुवा न्युगिनी भोली भिड्दै

काठमाडौँ, २९ कात्तिक । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा भोलि नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावीस्थित शेख जायद स्टेडियममा सोमबार नेपालले विजय लक्ष्यकासाथ पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

नेपाल दोस्रो खेलमा भने आगामी मङ्सिर २ गते पपुवा न्युगिनीसँग नै पुनः भिड्नेछ । नेपाललाई पपुवा न्युगिनीसँगको खेल जित्नैपर्ने दबाब छ ।

यसअघि स्कटल्यान्डमा भएको उक्त प्रतियोगिताको पहिलो चरणमा दुई खेल खेलेको नेपालले दुबै खेलमा हार भोग्दै अङ्कविहीन छ । स्कटल्यान्डसँगको दुई खेलअन्तर्गत पहिलो खेलमा तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा नौ विकेटले हार बेहोरेको थियो ।

त्यस्तै, नेदरल्यान्ड्समा भएको पहिलो चरणको खेलमा दुई खेल नै खेलेको पपुवा न्युगिनी पनि अङ्कविहीन छ । पपुवा न्युगिनी नेदरल्यान्ड्ससँग भएको पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा ८५ रनले हार भोगेको थियो ।

नेपाल यसअघि भएको आइसिसी विश्व लिग क्रिकेट डिभिजन टू मा उत्कृष्ट खेल प्रदर्शन गरेपछि उक्त प्रतियोगिताको लागि छनोट भएको थियो ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित सोमपाल कामी, सरद भेषवाकर, शक्ति गौचन, महेश क्षेत्री, करण केसी, पृथु बास्कोटा, इर्साद अहमद, विक्रम सोब, नरेश बुढाऐर, महबुब आलम, सुवास खकुरेल, अनिल मण्डल र वसन्त रेग्मी छन् । अहमद र सोबले भने अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गर्न लागेका हुन् ।

प्रतियोगितामा नेपालसहित स्कटल्यान्ड, युएई, हङ्कङ, नामिबिया, पपुवा न्युगिनी, केन्या र नेदरल्यान्ड्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्दैछन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts