काठमाडौँ, १० मङ्सिर । कठिन परिस्थतिमा पनि देशको स्वाभिमान उच्च रहेको देखाउन कलाकार ज्योतिप्रकाश विकले आज वसन्तपुर डबलीमा ‘क्यानभास’को माध्यम प्रयोग गर्नुभयो ।
‘आर्ट फर ग्लोबल पिस’ नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा करिब डेढ घन्टा लगाएर उहाँले देशको नक्सा–चित्र कोर्नुभयो । विभिन्न रङले सजिएको चित्रमा हिमाल, पहाड, तराई तथा देशको जातीय सांस्कृतिक विविधता झल्किएको थियो । चित्रमा नाकाबन्दीको ताला लागेको देखाएको भए पनि चाबी पनिसँगै थियो । कलाकार विकले चित्रबारे भन्नुभयो, “छिमेकीले नाकाबन्दीको ताला लगाए पनि त्यसलाई खोल्ने चाबी हामीसँग छ, त्यो आत्मनिर्भरता हो ।”
नाकाबन्दीपछि नेपाली जनता आत्मनिर्भर बन्नेप्रति सचेत भएकोप्रति सङ्केत गर्दै उहाँले भन्नुभयो, “आफ्नै हातमा चाबी हुँदासम्म कोहीसँग झुक्नुपर्ने छैन ।”
कलाकारले चित्र बनाउँदा करिब २०० को हाराहारीमा दर्शकले उपस्थित भएर साथ दिएका थिए । कलाकारले चित्र बनाइसकेपछि एक दर्शकले टिप्पणी गरे, “यो चित्रले गुगलबाट खिचेको नेपालको नक्साको भान दियो ।”
कलाको माध्यमले राष्ट्रिय स्वाभिमानसँगै विश्व शान्ति फैलाउने उद्देश्यले यस्तो “स्पट आर्ट वर्कसप” पहिलोपटक गरेको आयोजकमध्येका एक राजेन्द्र कुँवरले बताउनु भयो । रासस
No comments:
Post a Comment