कपिलवस्तु, २४ कात्तिक । मुलुकलाई आगामी एक वर्षभित्र विद्युत्भार कटौती मुक्त बनाउन वर्तमान सरकारले पहल सुरु गरेको उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बताउनुभएको छ । ।
ऊर्जाको दीर्घकालीन सङ्कट समाधानका लागि सरकारले अब छिट्टै सौर्य ऊर्जा तथा स–साना लघु जलविद्युत् आयोजनालाई पनि प्राथमिकता दिने उपप्रधानमन्त्री रायमाझीले बताउनुभयो ।
बाणगङ्गा नगरपालिकामा आज आयोजित दीपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री रायमाझीले ऊर्जा सङ्कटका लागि सरकारले चीन तथा अन्य छिमेकी मुलुकसँग नतिजा देखिने गरी छलफल गरिरहेको दाबी गर्नुभयो ।
उहाँले राष्ट्रिय गौरबका ठूला जलविद्युत् परियोजनालाई हस्तक्षेपमुक्त गराई निर्माणमा तीव्रता दिइने बताउनुभयो । केही महिनाअघि आएको विनाशकारी भूकम्पबाट आक्रान्त बनेका नेपालीलाई संविधान घोषणालगत्तै छिमेकीबाट भएको अघोषित नाकाबन्दीले चौतर्फी सङ्कटमा पारेको उहाँले बताउनुभयो ।
यस्तो जटिल अवस्थामा पनि सबै नेपाली एकजुट भई राष्ट्रियताप्रति अडिग भएकामा आफू गौरवान्वित भएको बताउँदै उपप्रधानमन्त्री रायमाझीले भन्नुभयो– ऊर्जा उत्पादनका क्षेत्रमा सरकार विशेष संवेदनशील छ । उहाँले भन्नुभयो, देशलाई एक वर्षभित्र विद्युत्भार कटौतीमुक्त गराउन पहल भइरहेको छ अब चीनका सबै नाका खोल्दै एकपक्षीय सिण्डिकेट तोडिन्छ ।
एनेकपा (माओवादी) बाणगङ्गा नगरकमिटीले आयोजना गरेको उक्त कार्यक्रममा एमाओवादी जिल्ला इन्चार्ज गिरीधारीलाल न्यौपाने, एमाओवादी जिल्ला अध्यक्ष रुद्रलाल बन्जाडे, सल्लाहकार कमल चुदाँलीलगायत सयौँ कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता नगर इन्चार्ज नारायण भुसालले गर्नुभएको थियो भने लङ्क रायमाझीले पनि बोल्नुभएको थियो । रासस
No comments:
Post a Comment