बागलुङ, १ मङ्सिर । जिल्लामा लहरा प्रजातिको ‘किवी’ फलको खेती विस्तार भइरहेको छ ।
स्वादिलो र गुणकारी मानिने किवीको व्यावसायिक उत्पादन बढाउन कृषक आकर्षित भएका हुन् । तेह्र वर्षअघि एक कृषकले गरेको परिक्षण खेती सफल भएपछि अहिले किवी खेती विस्तार गर्न जिल्ला कृषि विकास कार्यालय लागिपरेको छ । अघिल्लो वर्ष दुई हेक्टरमा लगाइएको किवी खेती फस्टाएपछि यो वर्ष थप दुई हेक्टरमा विस्तार गर्ने तयारीमा कार्यालय छ ।
दोलखामा रहेको सरकारी नर्सरीबाट एक हजार किवीका बिरुवा ल्याइने वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले जानकारी दिनुभयो । गत वर्ष जिल्लाभरमा ९४५ बिरुवा कृषकलाई वितरण गरिएको थियो । “किवी खेतीलाई वर्षेनी विस्तार गर्दै लैजाने योजना छ” उहाँले भन्नुभयो । बजार मूल्य र माग अत्याधिक भएपछि कृषकको किवी खेतीतर्फ आकर्षण बढेको हो ।
एक बोटमा सय किलोसम्म किवी फल्ने र वर्षदिन अगावै फल दिने गरेको अधिकृत हमालले बताउनुभयो । समुन्द्री सतहदेखि एक हजार ३०० सय मिटर माथिको उचाइँमा किवी खेती हुने गरेको छ । जिल्लाको भकुण्डे, निशी, जैदी, ग्वालीचौर लगायतका गाविसमा किवी खेती भइरहेको कृषि प्रसार अधिकृत विप्लव अधिकारीले जानकारी दिनुभयो । ओसिलो पाखो क्षेत्रमा खेती राम्रोसँग फस्टाउने उहाँको भनाइ छ ।
किवीको माग नेपालका ठूला सहरदेखि विदेशमा समेत रहेको अधिकारीले बताउनुभयो । “युरोपका विभिन्न देशमा समेत माग बढ्दो छ” उहाँले भन्नुभयो । जिल्लामा पहिलोपटक ग्वालीचौरका कृषक मेयरसिंह पाइजाले किवी खेती गर्नुभएको थियो । पछि कृषि विकास कार्यालयमार्फत खेतीको विस्तारलाई अन्य गाविसमा लगिएको हो । रासस
No comments:
Post a Comment