काठमाडौँ, ११ मङ्सिर । उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीको अध्यक्षतामा २४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन मूल आयोजक समिति गठन गरिएको छ ।
मन्त्री मैनालीको अध्यक्षतामा आज बसेको बैठकले सो समितिमा मन्त्रालयअन्तर्गतका विभिन्न निकाय, गैरसरकारी सङ्घसंस्था तथा अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको छ ।
मन्त्री मैनालीले अपाङ्गता भएका नागरिक पनि समुदायका अन्य नागरिक सरह सम्मानित र मर्यादित नागरिक भएकाले उनीहरुको आवश्यकताअनुसार विशेष अवसर र व्यवस्था गर्नुपर्ने भन्दै यस दिवसलाई मनाउन लागिएको जानकारी दिनुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिका लागि सरकारले नयाँ कार्यक्रम घोषणा गर्नुपर्ने माग गर्नुभयो ।
अपाङ्गता भएका व्यक्तिको हकअधिकार प्रवद्र्धन गर्न, अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा भएका उपलब्धि जानकारी गराउन र नयाँ कार्यक्रमको प्रतिबद्धता जाहेर गर्न संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाल सरकारले सरकारी, निजी तथा गैरसरकारी सबै निकायसँग मिलेर अपाङ्गता अन्तर्राष्ट्रिय दिवस मनाउँदै आएको छ ।
यस वर्षको दिवसको नारा ‘अर्थपूर्ण समावेशीकरणःसबै क्षमताका व्यक्तिका लागि पहुँच र सशक्तीकरण’ भन्ने रहेको छ । रासस
No comments:
Post a Comment