Thursday, November 26, 2015

मेरो स्वास्थ्य ठीक छ, अब देशको स्वास्थ्य पनि ठीक हुन्छ – सभापति कोइराला

काठमाडौँ, १० मङ्सिर । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्य ठीक रहेको र अब छिट्टै मुलुकको वर्तमान समस्या पनि समाधान हुने बताउनुभएको छ ।

संयुक्त राज्य अमेरिकाबाट स्वास्थ्य उपचार गराई आज स्वदेश फर्कनुभएका सभापति कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूलाई लागेको क्यान्सर रोग पूर्णरुपमा निको भएको र मुलुकको वर्तमान समस्या पनि वार्ता र सहमतिका माध्यमबाट छिट्टै समाधान हुने बताउनुभयो ।

सभापति कोइरालाले आफूलाई जिब्रो र फोक्सोमा क्यान्सर भएको र चिकित्सकले चार÷चार महिनामा ‘फ्लोअप’का लागि बोलाएको भए पनि आफू एक वर्षमा जाँदा पनि चिकित्सक पूर्णतया निको भएको (क्लिन चिट) भनी खुसी व्यक्त गर्नुभयो ।

तराई–मधेसमा भइरहेको आन्दोलनको माग समाधानका लागि आफू नेतृत्वको सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाएको जानकारी गराउँदै उहाँले भन्नुभयो, “संशोधनको प्रक्रिया अघि बढे आन्दोलनको माग सम्बोधन हुन्छ, यसमा सबै लाग्नुपर्छ ।”

मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्तामाथि कुनै पनि किसिमको खतरामा हुन नहुने भन्दै सभापति कोइरालाले आन्दोलनरत दललाई पनि आन्दोलन शान्तिपूर्ण बनाउन आग्रह गर्नुभयो । उहाँले मधेसमा उठेका मागलाई पूर्णरुपमा बेवास्ता गरेर अघि बढ्न पनि नसकिने विचार व्यक्त गर्नुभयो ।

उहाँले मुलुकको इतिहासमा पहिलोपटक संविधानसभाबाट लोकतान्त्रिक संविधान बनेको र यसले सबै जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र र लिङ्गको अधिकार सुनिश्चित गर्नुका साथै सबैको पहिचानलाई उजागार गरेकामा सबैले संविधानप्रति गर्व महसुस गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

काँग्रेस प्रतिपक्षमा भए पनि आन्दोलनरत दलसँग वार्ता र सहमतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउँदै सभापति कोइरालाले सत्ता पक्ष र आन्दोलन पक्ष पनि संवेदनशील भएर सहमतिमा आउनुपर्नेमा जोड दिनुभयो ।

काँग्रेसको आसन्न महाधिवेशनमा तपाइँको उम्मेदवारी के हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले त्यसबारेमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै त्यसबारेमा पार्टीका नेता तथा साथीभाइसँग छलफल गरेपछि जे हुन्छ सोहीअनुसार अघि बढ्ने बताउनुभयो ।

सभापति कोइरालालाई विमानस्थलमा काँग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, प्रवक्ता दीलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, बलबहादुर केसीलगायत नेता कार्यकर्ताले स्वागत गर्नुभएको थियो । उहाँ गत कात्तिक २१ गते उपचारका लागि अमेरिका जानुुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts