Sunday, November 8, 2015

भारतकै सहयोगमा मधेस आन्दोलन : उपप्रम मैनाली

भक्तपुर, २२ कात्तिक । उपप्रधानमन्त्री एवम् महिला तथा बालबालिका मन्त्री सिपी मैनालीले मधेस आन्दोलन भारतकै इसारामा भएको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भारतीय भूमिको प्रयोग गर्दै र भारतकै सहयोगमा मधेस अन्दोलन भइरहेको बताउनुभएको हो ।

मैनालीले भारतले लगाएको अघोषित नाकाबन्दी एक मधेस एक प्रदेश हुँदै दुई मधेससम्म पुगेर नेपालको तराई क्षेत्रलाई आफ्नो अधिनमा पार्ने रणनीति भएको जिकिर गर्नुभयो ।

मधेसका जायज माग पूरा गर्न सरकारले सर्वपक्षीय नयाँ समिति गठन गरेर समस्या समाधान गर्न तत्पर रहे तापनि मधेसवादी अन्दोलनकारी नेतृत्वका विविध हठ र भारतको अदृश्य सहयोगी भूमिकाले समस्या समाधान हुन नसकेको उहाँको टिप्पणी थियो ।

भारतले लगाएको अघोषित नाकाबन्दीबारे अन्तर्राष्ट्रिकरण भइसकेको बताउँदै उहाँले भन्नुभयो– “नाकाबन्दी तत्कालै खुल्न सक्ने अवस्था छैन, जानेर नजानेर भारतले गरेको नाकाबन्दी अहिले भारतलाई नै गलाको पासो बनेको छ ।”

भारतले लगाएको नाकाबन्दीले नेपाललाई चीनसँग नजिक हुन र उत्तरतर्फका नाका खोल्न सहयोग पुगेको चर्चा गर्दै उपप्रधानमन्त्री एवम् महिला तथा बालबालिका मन्त्री मैनालीले भारतसँगको आयात निर्यातका लागि कूटनीतिक पहल गर्दै सम्बन्ध सुधारतर्फ नेपाल अग्रसर हुने बताउनुभयो ।

उपप्रधानमन्त्री मैनालीले आन्दोलनरत मधेसवादी दलबाट सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालबाट वंशजका आधारमा नागरिकता पाएको भनी गरेको दाबीबारे खोजबिन हुनुपर्ने आँैल्याउनुभयो ।

उहाँले नेपाली काँग्रेसले मधेसवादी दललाई बुई चढाएर अगाडि बढे काँग्रेसका लागि पनि हितकर नहुने र बिपीले अँगालेको नीति खडेरीमा पर्ने बताउनुभयोे । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts