काठमाडौँ, २२ कात्तिक । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज भेटी प्रतिष्ठानले अगाडि सारेको संस्कृति विश्वविद्यालय स्थापनालगायतका विषय स्मरण गराएको छ ।
मदन भण्डारी फाउन्डेसनअन्तर्गतको प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाको नेतृत्वमा राष्ट्रपति भवन, शीतल निवासमा गएको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सिर्जनाग्राम निर्माण, विदेशस्थित राजदूतावासमा सांस्कृतिक सहचारी नियुक्ति, सरकारी निकायमा कला साहित्य सामग्री खरिदको व्यवस्था, लोकसाहित्यको खोजी एवम् अनुसन्धान र चलचित्र हलमा इ–टिकेटिङको प्रचलन सुरु गर्न पनि अवगत गरायो ।
प्रतिनिधिमण्डलका महासचिव देवी नेपालले कवितात्मक बधाइ तथा शुभकामना वाचन गर्दै आफ्नो सङ्घर्षमय जीवनलाई सम्झेर पदको स्वच्छतामा ध्यान दिन राष्ट्रपतिसँग आग्रह गर्नुभयो ।
सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष प्रा डा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्ष यशोदा अधिकारी तथा सचिवालय सदस्य शान्तकुमार राई, श्याम रिमाल, अशोक राई र पुराना राजनीतिज्ञ तथा कवि जगन्नाथ आचार्य पनि संलग्न हुनुहुन्थ्यो । रासस
No comments:
Post a Comment