Sunday, November 8, 2015

स्वीस नागरिकको सहयोगमा नुवाकोटमा तीन अत्याधुनिक विद्यालय

काठमाडौँ, २२ कात्तिक । स्वीस नागरिकको आर्थिक सहयोगमा नुवाकोटको तारुकामा तीन अत्याधुनिक विद्यालय निर्माण सुरु गरिएको छ ।

पर्यटन व्यवसायी मोहन लम्सालको संयोजनमा नुवाकोटस्थित तारुका आरुबोटे वडा नं ४ मा बिपी स्मृति प्राथमिक विद्यालयको निर्माण थालिएको हो ।

मकालु एडभेन्चरका सञ्चालकसमेत रहनु भएका व्यवसायी लम्सालले १० जना स्वीस नागरिकको आर्थिक सहयोग जुटाएर विद्यालय निर्माण अभियान सुरु गर्नुभएको छ ।

निर्माणाधीन उक्त विद्यालयमा सौर्य उर्जा प्रणाली, बाथरुम तथा अत्याधुनिक प्रविधिको भूकम्प प्रतिरोधात्मक छ कोठे पक्की भवन बनाइने छ ।

लगानीकर्ता स्वीस नागरिक स्वयम्ले विद्यालय निर्माणका लागि श्रमदान पनि गरिरहेका छन् । विद्यालय निर्माण कार्यले स्थानीयलाई समेत रोजगारीको अवसर सिर्जना भएको छ ।

भूकम्पबाट क्षतिग्रस्त बिपी स्मृति प्राविसहित नुवाकोट तारुकास्थित वडा नं ५ को श्री नमुना जनजागृति प्रावि र वडा नं ८ स्थित हस्तीकेसर प्राविको पनि यसलगत्तै चरणबद्ध रुपमा निर्माण गरिने व्यवसायी लम्सालले बताउनुभयो ।

व्यवसायी लम्साल र गन्तव्य नेपाल साप्ताहिकका अध्यक्ष तथा प्रधानसम्पादक शिव अधिकारीलगायतका टोलीले निर्माणाधीन विद्यालय भवनको निरीक्षण गर्दै चाँडै भवनले पूर्णता पाउने बताउनुभयो ।

अध्यक्ष अधिकारीका अनुसार तीनवटै विद्यालय निर्माणका लागि रु दुई करोडभन्दा बढी लगानी रहेको छ ।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का पूर्वमहासचिवसमेत रहनुभएका लम्सालले नुवाकोट तारुकामा मात्र नभएर देशैभरिका भूकम्प प्रभावित दुर्गम क्षेत्रमा शिक्षालगायतका अन्य क्षेत्रमा समाजिक कार्य गर्दै आउनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts