काठमाडौँ, ५ मङ्सिर । विश्वदर्शन अभियान नेपालको शनिबासरीय सत्सङ्ग कार्यक्रम आज यहाँ सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले संस्कृति मानव जीवनको अभिन्न अङ्ग भएको र योगले पनि मानव जीवनलाई सरल र सहज बनाउने बताउनुभयो ।
उहाँले अभियानका विश्वयात्रीद्वय नवराज तथा नारायणप्रसाद भट्टराईले देशलाई चिनाउन आफ्नो क्षेत्रबाट गरेको प्रयास प्रशंसनीय भएको पनि बताउनुभयो ।
योगमा नै विद्यावारिधि गर्नुभएका आचार्य महेशानन्दले योगले मानिसका दिन दिनका कार्य फरक ढुङ्गले गर्न सिकाइ जीवनलाई सहज बनाउने बताउँदै मानिसले आफ्नो कर्मको फल प्राप्त गर्ने बताउनुभयो ।
राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक तीर्थ भट्टराईले योग र आयुर्वेद मानव जीवनका लागि उपयोगी हुने र हालको नाकाबन्दीबाट भएका जस्ता दुःखकष्ट हटाउन आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताउनुभयो ।
वातावरण संरक्षण संस्था महासङ्घका अध्यक्ष टीकाराम दाहालले सहरमा उत्पादित फोहरलाई उपयोगी गरी आर्थिक लाभ लिनुका साथै वातावरणलाई स्वच्छ बनाउन सकिने र काम खोज्न विदेश जाने युवालाई देशमै काम दिन सकिने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा अभियानका अध्यक्ष नवराज भट्टराई तथा महासचिव नारायणप्रसाद भट्टराईले संस्थाले गरेका दीपावलीमा देउसी भैलो खेल्नेलगायतका गतिविधिबारे जानकारी दिनुभयो । देउसी भैलोमा सहभागीलाई सम्मानपत्रसमेत सो अवसरमा वितरण गरिएको थियो । रासस
No comments:
Post a Comment