Monday, November 23, 2015

सबै एकजुट भएर नेपाललाई बचाउनुपर्छ : उपप्रम केसी

पोखरा, ७ मङ्सिर । उपप्रधानमन्त्री चित्रबहादुर केसीले सबै एकजुट भएर नेपाल बचाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा कास्कीद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा जनमोर्चाका अध्यक्ष केसीले भन्नुभयो,“राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताका लागि सबै राजनीतिक दल, नागरिक समाज, एक भएर देश बचाउनुपर्छ, यो नेपालीका लागि परीक्षाको घडी पनि हो ।”

नेपाली जनताले आफैँले आफ्नो संविधान तथा राष्ट्रप्रमुख तथा सरकार प्रमुख बनाएकै कारण वर्तमानमा समस्या भोगिरहेको उल्लेख गर्दै उहाँले नाकाबन्दीलाई सहज बनाउन विभिन्न विकल्पको खोजी भइरहेको जानकारी दिनुभयो ।

हिमाल, पहाड र तराई मिलेर नै नेपाल बनेको बताउँदै उपप्रधानमन्त्री केसीले यिनीहरू अलग हुन नसक्ने धारणा राख्नुभयो । “तराईका आठ जिल्ला एक ठाउँ भइसकेका छन्, बाँकी १४ जिल्लालाई पनि अलग गर्न खोजिएको छ,” उहाँले भन्नुभयो, “तराईका २२ जिल्ला पहाडबाट अलग गर्ने हो भने त्यो नेपाल हुन सक्दैन ।”

जनसङ्ख्याको आधारमा मात्र निर्वाचन क्षेत्र बनाउने संसारमा कतै पनि चलन नरहेको उहाँको भनाइ छ । अङ्गीकृत नागरिक संसारमा कतै पनि सरकार प्रमुख, राष्ट्रप्रमुख तथा सेना प्रमुख नरहेको पनि उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts