काठमाडौँ, १५ कात्तिक । भारतले लगाएको अघोषित नाकाबन्दी अन्त्य र भूकम्पपछिको पुनःनिर्माण वर्तमान सरकारको प्रमुख प्राथमिकता बन्नुपर्नेमा यहाँ आज आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
नेपाल–भारत मैत्री समाजले आयोजना गरेको ‘नयाँ सरकारका प्राथमिकता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले मधेसमा जारी आन्दोलन छिटो सम्बोधन गर्नुपर्नेसमेत बताए ।
सो अवसरमा नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीले नेपालीको दैनिकीमा देखिएको समस्या र चाडपर्वको समयलाई मध्यनजर गरेर तत्काल भारतले अघोषित नकाबन्दी हटाउनुपर्ने बताउनुभयो ।
उहाँले अहिलको संविधान विश्वकै उत्कृष्ट संविधान भएको बताउँदै संविधानमा मधेसको अधिकांश मागको सुनुवाइ भइसकेकाले आन्दोलन गर्नुको औचित्य छैन भन्नुभयो ।
एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाल र भारतको सम्बन्ध जटिल मोडमा पुग्न लागेको बताउँदै कार्यक्रममा उपस्थित भारतीय राजदूत रणजित रायलाई छिट्टै निकास निकाल्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले संविधान बन्न १० दिन ढिलो गरेको भए समस्या समाधान हुन्थ्यो कि भन्ने सुनिन्छ, १० दिन, १५ दिन, महिना दिनभन्दा भन्दै संविधान नबन्ने अवस्था देखेपछि हामीले संविधान जारी गरेका हौँ ।”
एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भूपरिवेष्टित देशले पाउनुपर्ने अधिकार पाउनुपर्ने बताउँदै भारतले त्यसमा हस्तक्षेप गर्न नहुने धारणा राख्नुभयो ।
मधेसको आन्दोलन नेपालको आन्तरिक समस्या भएकाले संविधानमा छुटेका मधेसको विषयवस्तु सम्बोधन गर्न सकिने भएकाले आन्दोलनको औचित्य नरहेको बताउनुभयो ।
पूर्व सभामुख दमननाथ ढुङ्गानाले अहिलेको संविधान कानुनीरुपमा उपयुक्त भए पनि राजनीतिक रुपमा केही कमजोर देखिएको बताउनुभयो ।
कार्यक्रममा भारतका लागि नेपालका पूर्व राजदूतद्वय लोकराज बराल र दुर्गेसमान सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा उचाइमा पुगेको नेपाल र भारतबीचको सम्बन्ध भारतकै कारण अहिले ओरालोमा पुगेको बताउनुभयो ।
नेपालमा भारत विरोधी भावना बढेकामा दुःखी छौँ ः राजदूत राय
कार्यक्रममा नेपालका लागि भारतका राजदूत रणजित रायले नेपालमा भारत विरोधी भावना बढ्दै गएकामा आफूहरु दुःखी रहेको बताउनुभयो ।
उहाँले नेपालसँगको भारतको जस्तो सम्बन्ध अन्य मुलुकसँग नभएको जिकिर गर्दै यो सम्बन्धलाई कसैले बिगार्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “भारत नेपालको दुस्मन होइन, हुन पनि सक्दैन, त्यस्तो कल्पना पनि हामी गर्न सक्दैनौँ ।”सम्बन्धमा कहिलेकाहीँ उतारचढाव आउनु स्वभाविक भएको बताउँदै नेपाल र भारतबीचको सम्बन्ध फेरि पहिलेकै अवस्थामा पुग्ने उहाँको भनाइ थियो ।
भारतले नेपालमा संविधान चाहेको थिएन उसको अर्कै उद्देश्य छ भन्ने जस्ता प्रचारले हामी दुःखी छौँ भन्नुहुँदै राजदूत रायले नेपालमा अशान्ति, अस्थिरता भएमा त्यसको असर सीमापारि भारतमा समेत पर्ने भएकाले शान्त, स्थिर नेपाल आफूहरुको चाहना भएको बताउनुभयो ।
उहाँले मधेसमा जारी आन्दोलनको समाधान नेपाल आफैँले निकाल्नुपर्ने बताउँदै छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment