भक्तपुर, १९ कात्तिक । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतले नेपाललाई गरेको नाकाबन्दी अमानवीयताको पराकाष्ठा भएको बताउनुभएको छ ।
उच्चमाध्यमिक शिक्षा परिषद् कर्मचारी सङ्घ नेपालद्वारा आज आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले भारतले हाल नेपाललाई गरेको नाकाबन्दी विश्वव्यापी मान्यता विपरीत भएको बताउँदै यसलाई अमानवीय कार्यको संज्ञा दिनुभयो ।
उहाँले भन्नुभयो– “नाकाबन्दीबाट नेपालीले चुनौती सामना गरेर अघि बढ्दै आत्मनिर्भर हुनुपर्छ, छिमेकीले गरेको नाकाबन्दीलाई राष्ट्रिय अर्थतन्त्रको विविधीकरण गर्ने अवसरका रुपमा लिनुपर्छ । ”
मुलुकको शैक्षिक बेरोजगारीलाई कम गर्नका लागि समयानुकूलको शिक्षा प्रदान गर्नुपर्ने बताउँदै नेता खनालले २०२८ सालको शिक्षा नियमावली वर्तमान समयानुसार नभएकाले नयाँ ऐन ल्याउन जरुरी रहेको बताउनुभयो ।
सङ्घका अध्यक्ष नरेन्द्र ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा परिषद्का उपाध्यक्ष चैतन्य शर्मा, सदस्य सचिव नारायण कोइरालालगायतले १० लाख विद्यार्थीको भाग्य भविष्य जोडिएको परिषद्लाई सरकारले उपेक्षा गरेको आरोप लगाउनुभयो ।
सो अवसरमा सङ्घको प्रकाशन ‘कर्मचारी आवाज’ को विमोचन गरिनाका साथै परिषद्मा उत्कृष्ट कार्य गर्ने कर्मचारी शारदा मैनाली, मङ्गला श्रेष्ठ, प्रेम महत, हिरा आचार्य र निमेष विष्टलाई ‘उत्तम पङ्कज स्मृति पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । रासस
No comments:
Post a Comment