Saturday, November 14, 2015

रात जति लामो भएपनि उज्यालो हुन्छ : एमाले नेता ज्ञवाली

भक्तपुर, २८ कात्तिक । नेकपा (एमाले) का सचिव प्रदिप ज्ञवालीले देशमा हाल देखापरेको इन्धनको सङ्कट धेरै समय नरहने बताउनुभएको छ ।

नेकपा (एमाले) सूर्यविनायक नगर कमिटीले आज सिपाडोलमा आयोजना गरेको चियापान एवम् पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले भारतको नाकाबन्दी दुई साताभन्दा बढी नजाने बताउनुभयो ।

बिहानको उज्यालोका लागि रातलाई कुर्नुपर्ने बताउँदै सचिव ज्ञवालीले भन्नुभयो, “रात जति लामो भए पनि बिहान हुन्छ, त्यो बिहानले उज्यालो लिएर आउँछ, अहिलेको भारतीय नाकाबन्दी रात हो, लामै रात भएपनि उज्यालो लिएर बिहान पक्कै आउँछ ।”

नाकाबन्दीबाट पाठ सिकेर अब नेपाल कृषि, ऊर्जा र यातायातका क्षेत्रमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदै उहाँले यसका लागि एमाले नेतृत्वको वर्तमान सरकारले योजना अघि बढाइरहेको बताउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले अब भारतसँगको सम्बन्ध पुनः परिभाषित गर्नुपर्ने बताउँदै सरकारले आत्मनिर्भरमुखी नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य सानु सुवालले भारतले हजारौँ वर्ष नाकाबन्दी गरेपनि नेपाल भारतको गुलाम बन्न नहुने बरु स्वाभिमानलाई जोगाउँदै आर्थिक क्रान्ति र पुनःनिर्माणमा लाग्नुपर्ने औँल्याउनुभयो ।

पूर्व उद्योगमन्त्री महेश बस्नेतले मधेसवादी केही नेताले मधेसलाई टुक्र्याउन खोज्दा राष्ट्रिय एकता र अखण्डताका पक्षमा एमाले चट्टानी अडानका साथ लाग्दा पनि काँगे्रसले विगतको सहमति तोडेर भारतीय उक्साहटमा लागेर धोका दिएको बताउनुभयो ।

त्यसअवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी सिपाडोल गाउँ समितिका सम्पूर्ण पदाधिकारी, कार्यकर्ता गरी १५३ जनाले राप्रपा छाडेर एमाले प्रवेश गरेका थिए । राप्रपाका नेता एवम् सिपाडोलका पूर्व गाविस उपाध्यक्ष शम्भु थापा, ९ नं वडाका तत्कालीन वडा अध्यक्ष आशाबहादुर खाजुसहित राप्रपाका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेको कार्यक्रमका संयोजक किरण थापाले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts