त्रिशूली (नुवाकोट), ५ मङ्सिर । नेपाली काँग्रेसका नेता डा रामशरण महतले देशको सङ्कटलाई आन्दोलनरत र सरकार दुवैले गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
जिल्लाको समुद्रटारमा नेपाली काँग्रेस क्षेत्र नं २ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री डा महतले उक्त भनाइ राख्नुभएको हो ।
डा महतले आन्दोलनरत मधेसवादी दल र सरकार दुवै पक्षलाई लचिलो र गम्भीर भएर प्रस्तुत हुन आग्रह गर्नुभयो । अहिले भएको नाकाबन्दी र आन्दोलनलाई कूटनीतिक प्रयासबाट समाधान गर्नुपर्ने सुझाव दिँदै डा महतले मधेस र आयातनिर्यातको समस्या तत्काल समाधान गरी भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणमा जुट्न ढिलाइ भएको बताउनुभयो ।
नेता डा महतले मधेसका जायज मागलाई पूरा गर्नुपर्ने बताउँदै सीमाङ्कन पुनःविचारले हुनसक्ने सम्भावित क्षतिको पूर्व आँकलन गर्दै सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले अहिले भइरहेको सीमाङ्कनलाई फेरबदल गर्दा हुनसक्ने गम्भीर परिस्थतिलाई ध्यानमा राखी अहिले सीमाङ्कनको विवाद नलम्ब्याउनसमेत सरकारलाई सुझाव दिनुभयो ।
उहाँले नेकपा (एमाले) र काँग्रेसबीच भएको सहमतिअनुसार नेपाली काँग्रेसले पुनःनिर्माण प्राधिकरण अध्यादेश संसद्मा पेस गर्ने बताउनुभयो ।
उहाँले आफू अर्थमन्त्री हुँदा सुरु गरेको विकास निर्माणका लागि आफू क्रियाशील रहेको बताउँदै सुरु भएका योजनाका लागि बजेट कटौती नहुनेसमेत बताउनुभयो ।
नेता महतले एमाले, माओवादी सत्तागठबन्धनप्रति व्यङ्ग्य गर्दै छ जना उपप्रधानमन्त्रीले विश्व रेकर्ड कायम भएको बताउनुभयो ।
नेपाली काँग्रेस क्षेत्र नं २ का सभापति धु्रव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सचिव रमेश महतले जिल्लाको विकास निर्माणका लागि नेपाली काँग्रेसको योगदान उच्च रहेको बताउँदै प्रतिपक्षमा रहँदा पनि यो गति कायमै रहने बताउनुभयो । रासस
No comments:
Post a Comment