काँकडभिट्टा (झापा), ९ मङ्सिर । नेकपा (एमाले) मेची अञ्चल कमिटीले आगामी फागुनमा पार्टीका मुलुकभरका उच्च तहका नेतालाई सहभागी गराउँदै झापाको सुखानीदेखि ताप्लेजुङको ढुङ्गेसाँघुसम्म ‘पर्यटन यात्रा’ को आयोजना गर्ने भएको छ ।
‘झापा विद्रोह’ का क्रममा पाँचजना सहिद भएको दिन फागुन २१ गते झापाको सुखानीबाट पर्यटन यात्राको सुरुवात हुने र १० दिनपछि ताप्लेजुङको ढुङ्गेसाँघुमा समापन कार्यक्रम हुने एमाले झापाका अध्यक्ष चिन्तन पाठकले बताउनुभएको छ ।
एमाले झापाका अध्यक्ष पाठकका अनुसार कार्यक्रमको आयोजना पार्टीको मेची अञ्चल कमिटीले गर्ने र यात्रामा ७५ जिल्ला कमिटीका अध्यक्ष र १४ अञ्चलका इञ्चार्जलाई सहभागी गराइने योजना रहेको छ । यात्रामा झापा आन्दोलनका योद्धाहरू र पार्टीका केन्द्रीय पदाधिकारी सरिक हुने बताइएको छ ।
झापाको सुखानीमा हुने यात्राको उद्घाटन प्रधानमन्त्री केपी ओलीबाट गराउने र ढुङ्गेसाँघुको समापन अवसरमा जननेता मदन भण्डारीकै परिवारका सदस्यको उपस्थिति गराइने पार्टीको योजना रहेको पाठकले बताउनुभयो । रासस÷चन्द्रकला
–––––––––
No comments:
Post a Comment