काठमाडौँ, ११ मङ्सिर । नेपाली काँग्रेसका नेता डा रामशरण महतले मधेस आन्दोलन र द्विपक्षीय व्यापारलाई आन्दोलन र नाकाबन्दीसँग जोड्न नहुने बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले आज बोलाउनुभएको बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले नाकाबन्दी र आन्दोलनको बहानामा अन्तर्राष्ट्रिय व्यापार अवरोध हुनु गलत भएको धारणा राख्नु भएको हो ।
पूर्व अर्थमन्त्री महतले आन्तरिक मामिलाको बहाना बनाएर व्यापार अवरोध नगर्न भारतलाई स्पष्टरुपमा भन्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “पारवहन सुविधा भनेको अन्तर्राष्ट्रिय सन्धि, दुई देशबीचको व्यापारिक सन्धि र परम्परागतरुपमा चल्दै आएको अभ्यासका आधारमा चल्ने हो, यसलाई आन्तरिक राजनीतिसँग गाँस्न हुँदैन ।”
भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दी र देशभित्र भएको आन्दोलनका विषयमा जानकारसँग रायसुझाव लिएर कसरी समस्याको समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो । छलफलमा पूर्व परराष्ट्रमन्त्री, पूर्वमन्त्री, पूर्वराजदूत एवम् सचिवको सहभागी हुनुहुन्थ्यो । रासस
No comments:
Post a Comment