काठमाडौँ, ११ मङ्सिर । कृषि विकासमन्त्री हरिबोल गजुरेलले पश्चिमका पहाडी क्षेत्र नम्बर ४ प्रदेशमा राखेर थरुहटको विवाद मिलाउन सकिने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सीमाङ्कनको विषय सामान्य विषय नभएकाले अहिले नै हल हुने सम्भावना नरहेको र थारु समुदायको भावनालाई सम्बोधन गरी विवाद मिलाउन सकिने र त्यसका लागि पार्टीले प्रयत्न गरिरहेको उल्लेख गर्नु भयो ।
मन्त्री गजुरेलले आन्दोलनरत मोर्चालाई वार्ताबाट समाधान खोज्न आग्रह गर्दै बढी विवाद हुने विषयलाई अहिले छाडेर कम विवाद हुने विषयलाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले वर्तमान सरकारलाई आफ्नो पार्टीले सहयोग गरी मुलुकमा विद्यमान समस्या समाधान गर्ने बताउदै भारतको समर्थनमा मधेस आन्दोलन भइरहेको र अहिलेको अडानले समस्या समाधान नहुने धारणा राख्नु भयो ।
नेकपा (एमाले)का नेता शङ्कर पोखरेलले नाकाबन्दीले नेपाल मात्रै प्रभावित नभई भारतसमेत प्रभावित भइरहेको उल्लेख गर्दै यसको समाधान कूटनीतिकरुपमा गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भारतले आफ्नो सुरक्षाको चासोका लागि एक समुदायलाई साथ लिने कुरा गलत भएको बताउँदै सिङ्गो नेपालसँग मित्रता गर्न सकेमात्रै भारतको त्यस्तो चाहना पूरा नहुने बताउनुभयो ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले विवादित जिल्लाको विवाद जनमत सङ्ग्रहबाट टुङ्ग्याउने प्रस्ताव आफूलाई मान्य नभएको विचार व्यक्त गर्दै जनमत सङ्ग्रह गरिए हिन्दूधर्म, राजसंस्था र विखण्डनको माग आउन सक्ने औँल्याउनुभयो । रासस
No comments:
Post a Comment