फलेवास (पर्वत), ७ मङ्सिर । मुडिकुवा गाविस–३ अम्बोटका ३२ वर्षीय अशोक कुँवरले जिल्लामै पहिलोपटक अनारको व्यावासायिक खेती सुरु गरेका छन् ।
रामेछापबाट प्रति बिरुवा रु १०० मा खरिद गरेर उहाँले आफ्नोबारीमा अनारखेती सुरु गर्नुभएको हो । कुँवरले अहिले कोदो र मकै उत्पादन हुने १५ रोपनी जमिनमा अनारका ४५० बिरुवा रोप्नुभएको छ ।
“अहिले अनारका बिरुवा रोपेको जमिनमा १५ मुरी मात्र कोदो उत्पादन हुने गथ्र्यो” उहाँले भन्नुभयो । थप बिरुवा लगाउनका लागि अनारको छुट्टै नर्सरीसमेत स्थापना गरेको कुँवरले बताउनुभयो । आफू शिक्षक पेसामा भए पनि बाँकी रहेको समय अनारखेतीमा खर्च गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
अहिलेसम्म रु चार लाख लगानी गरिसकेको र दुई वर्ष अघि लगाएका बिरुवा अहिले हुर्कदो अवस्थामा रहेको उहाँले बताउनुभयो । दुई वर्षपछि फल दिनेमा उहाँ ढुक्क हुनुहुन्छ । एउटा बोटले सामान्यतया ५० देखि १५० किलोसम्म फल दिने कुँवरको भनाइ छ ।
“वार्षिक रु १० लाख कमाई हुने अनुमान छ” कुँवरले भन्नुभयो । अहिले बजारमा अनार प्रतिकिलो रु ३०० मा पाइन्छ । उहाँले मृदुला जातको अनारका बिरुवा लगाउनुभएको छ । सिँचाइका लागि उहाँले प्लास्टिक पोखरीसमेत निर्माण गर्नुभएको छ । रासस
No comments:
Post a Comment