काठमाडौँ, ८ मङ्सिर । पूर्वसभामुख सुवास नेम्वाङले सहमति र सहकार्यमा संविधान जारी भएकाले कार्यान्वयनका लागि सबै दल एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।
नेपाल–चीन हिमालय मैत्री समाजले आज आयोजना गरेको कार्यक्रममा उहाँले सम्पूर्ण नेपाली जनताको चाहनाअनुरुपको संविधान जारी भएकाले कार्यान्वयनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
पूर्वसभामुख नेम्वाङले भन्नुभयो, “ठूलो मिहेनत र सङ्घर्षले विश्वमै ऐतिहासिक संविधान निर्माण गरेका छौँ, सम्पूर्ण नेपालीको भावना र भविष्यलाई सम्बोधन गर्ने संविधानको कार्यान्वयन गर्न सबै एकजुट हुनुपर्छ ।”
नेपालका लागि चीनका राजदूत वु चुन्ताइले नेपालमा अघोषित रुपमा भइरहेको नाकाबन्दीप्रति चीन अत्यन्तै चिन्तित रहेको र यो समस्या जतिसक्दो छिटो समाधान होस् भन्ने चाहना रहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले नेपाल–चीनबीचको वर्षौंदेखि सुमधुर सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि दुई देशबीचको द्वौत्य सम्बन्धलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल–चीन सम्बन्ध पहिलेदेखि नै बलियो रहँदै आएको र आगामी दिनमा पनि चिरस्थायी राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोखरेल र पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पालाई पूर्वसभामुख नेम्वाङ र चीनका राजदूतले सम्मान गर्नुभएको थियो । रासस
No comments:
Post a Comment