काठमाडौँ, १० मङ्सिर । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले इन्धनलगायत अत्यावश्यक वस्तुको आपूर्ति असहज भएको भन्दै ज्येष्ठ नागरिकका लागि ग्यासलगायत अत्यावश्यक उपभोग्य वस्तु सहजरुपमा उपलब्ध गराउन आग्रह गरेको छ ।
महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावित ज्येष्ठ नागरिकको उचित पुनःस्थापनाका कार्यक्रम ल्याउन नपाउँदै तराई मधसको आन्दोलन र नाकाबन्दीका कारण ज्येष्ठ नागरिक थप मर्कामा परेको जनाएको छ ।
“इन्धनको अभावले उनीहरूलाई आवश्यक सुपाच्य भोजन गराउन कठिन भएको छ । साथै सार्वजनिक सवारी साधनमा भीडभाडले गर्दा यात्रा गर्न नसक्ने अवस्थामा छन्”– विज्ञप्तिमा उल्लेख छ ।
महासङ्घका अध्यक्ष डा गौरीशङ्करलाल दासद्वारा जारी विज्ञप्तिमा राज्यले आन्दोलनरत पक्षसँग वार्ता र संवादका माध्यमबाट यथाशीघ्र निकास दिनुका साथै ज्येष्ठ नागरिकलाई तत्कालको वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको छ । रासस
No comments:
Post a Comment