Sunday, November 1, 2015

दीर्घकालीन योजना बनाएर चीनबाट इन्धन ल्याउनुपर्ने–राजदूत मास्के

त्रिशूली (नुवाकोट), १५ कात्तिक । चीनका लागि नेपाली राजदूत डा महेश मास्केले नुवाकोट र रसुवाका सुरक्षा निकायका प्रमुखसँग चीनबाट तेल आपूर्ति गर्न सम्भावित उपायका बारेमा छलफल गर्नुभएको छ ।

राजदूत मास्केले आज नुवाकोटका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा प्रमुखसँग तेल आपूर्ति र सुरक्षाको विषयमा छलफल गर्नुभएको हो ।

चीनले नेपाललाई अनुदानको तेल उपलब्ध गराउने भएपछि बेइजिङबाट रसुवागढी हुँदै स्थलमार्गबाट नेपाल आउनुभएका राजदूत डा मास्केले नेपालले दीर्घकालीन रुपमा योजना बनाएर चीनबाट इन्धन ल्याउनुपर्ने बताउनुभयो ।

केरुङबाट नेपालमा तेल ल्याउन पहिरोको कारण सडक भरपर्दो नभएकाले पाइपलाइन नै विकल्प भएको राजदूत डा मास्केको भनाइ थियो ।

छलफलमा चीनको केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौँसम्म इन्धन जान थालेको विषयमा दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर दीर्घकालीन रुपमा सडक मार्गको सुरक्षा, भण्डारण स्थल तथा स्थानीयवासी तथा नागरिकको सहयोगका सम्बन्धमा कुराकानी भएको थियो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार राजदूत मास्केले नुवाकोटको सदरमुकाम विदुरसम्म पाइपलाइन विस्तार गरी विदुरमै भण्डारण केन्द्र निर्माणका लागि सम्भावित स्थानका बारेमा सल्लाह माग्नुभएको थियो ।

प्रजिअ ढकालले केरुङबाट रसुवागढी नाका हुँदै सरकारले इन्धन ल्याउँदा भण्डारण स्थलका बारेमा राजदूत मास्केले जिज्ञासा राख्दा आफूले नुवाकोटको पिपलटार क्षेत्र इन्धन भण्डारणका लागि उपयुक्त स्थान हुन सक्ने बताएको उल्लेख गर्नुभयो ।

राजदूत मास्केको साथमा परराष्ट्र मन्त्रालय सहसचिव झवीन्द्रप्रसाद अर्यालसमेत सहभागी हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts