Tuesday, December 1, 2015

नाकाबन्दीका विरुद्व १० दिने मानवअधिकार दिवस सुरु

काठमाडौँ, १५ मङ्सिर । मानवअधिकार तथा शान्ति समाजले ६७औँ विश्व मानवअधिकार दिवसका अवसरमा ‘नाकाबन्दी मानवताविरुद्धको अपराध हो, नाकाबन्दी मानवअधिकारमाथि कुठाराघात हो’ भन्ने नाराका साथ आजदेखि १० दिने विशेष अभियान सुरु गरेको छ ।

जोरपाटीबाट सुरु भएको सो अभियानमा नेपालमाथि लगाइएको नाकाबन्दी तत्काल अन्त्य गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गर्दै हस्ताक्षर सङ्कलन गरिएको हो ।

कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडीले भारतले नेपालविरुद्व लगाएको नाकाबन्दी इतिहासकै लज्जास्पद घटना भएको र भारतजस्तो मुलुकले यस्तो कार्य गर्नु अशोभनीय भएकाले यसको अन्त्य गर्न माग गर्नुभयो ।

कार्यक्रममा समाजका सभापति गङ्गाधार अधिकारी, कोषाध्यक्ष रेणुका पौडेल, समाजसेवी गोविन्द घिमिरे ‘वेदमणि’, कृष्णजी खड्का, सामाजिक कार्यकर्ता गोपाल बराल, डा सुवास प्याकुरेल, कोमला लामिछाने, कुमारमणि गजुरेललगायतले भारतले नेपालमाथि लगाएको नाकाबन्दी मानवताविरोधी रहेको भन्दै तत्काल यसको अन्त्य गर्न माग गर्नुभयो ।

सोही अवसरमा बुधबार जावलाखेलमा हस्ताक्षर सङ्कलन र बिहीबार भारतीय दूतावासअगाडि धर्ना दिने कार्यक्रम रहेको बताइयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts