हेटौँडा, १६ मङ्सिर । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले भारतले गरेको अघोषित नाकाबन्दीपछि उद्योग क्षेत्रमा भएको असरलाई सहज बनाउन अर्थ मन्त्रालयसँग छलफल भइरहेको बताउनुभएको छ ।
आज हेटाँैडामा आयोजित उद्योग सङ्घ मकवानपुरको चौधाँै वार्षिक सभालाई सम्बोधन गर्दै उहाँले भूकम्प र त्यसपछिको नाकाबन्दीले पारेको विषम परिस्थितिमा बन्द रुग्ण उद्योगलाई सुरु गर्ने नीति बनाई सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको उल्लेख गर्नु भयो ।
सभासद्त्रय ईन्द्र बानियाँ, रामनारायण बिडारी, अनन्त पौडेलले नीति निर्माण गर्ने तहमा स्थानियको प्रतिनिधित्व हुनुपर्ने र आर्थिक क्षेत्र पछाडि परेकाले नेतृत्वले अब सुझबुझ र दूरदृष्टि राखी नीति कार्यान्वयन गराउनुपर्ने धारणा राख्नु भयो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, उधोग सङ्घ मकवानपुरका अध्यक्ष ऋषिराम घिमिरेलगायतले हेटौंडा औद्योगिक क्षेत्रभित्रका ९० प्रतिशत उद्योग नाकाबन्दीका कारण बन्द भएको, यसबाट अर्बौको क्षति भएको मजदुर वेरोजगार हुने अवस्था आएकाले सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । रासस
No comments:
Post a Comment