Saturday, December 26, 2015

राप्रपा अध्यक्षको जिम्मेवारी आजदेखि चन्दमा

काठमाडौँ, ११ पुस । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व आजदेखि सम्हाल्नुभएको छ ।

पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले नयाँ अध्यक्षका लागि प्रस्ताव गर्नुभएको लोकेन्द्रबहादुर चन्दको नामलाई पार्टीको केन्द्रीय कार्यसमितिको आजको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

यसअघि बैठकमा अध्यक्ष राणाले आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।

अध्यक्ष राणाले राख्नुभएको प्रस्तावलाई नेता डा प्रकाशचन्द्र लोहनी र केन्द्रीय सदस्य सुनीलबहादुर थापाले समर्थन जनाउनुभएको थियो ।

विसं २०७० साल जेठ ३ गते भएको पार्टीको महाधिवेशनपछि अध्यक्षको जिम्मेवारी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा हुँदै पशुपतिशम्शेर राणाले चक्रीय प्रणालीका आधारमा सम्हाल्दै आउनुभएको थियो ।

पार्टीको केन्द्रीय समितिले पारित गरेको प्रस्तावअनुरुप महाधिवेशन हुन अब बाँकी रहेको १८ महिनाको समयलाई बराबर बाँडेर चक्रीय प्रणालीअनुसार पार्टीको नेतृत्व चन्द, राणा र लोहनीले सम्हाल्नु हुनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानले महाधिवेशनले चार वर्षे कार्यकालका लागि पार्टीको नेतृत्वसहित १०५ सदस्यीय कार्यसमिति चयन गर्ने प्रावधान राखेको छ ।

निवर्तमान अध्यक्ष राणाले बैठकबाट पारित प्रस्तावबारे जानकारी गराउँदै प्रमुख राजनीतिक दलबीच देखिएको अविश्वास र मतभेदका कारण जनताले पछिल्लो समय धेरै कष्टकरण जीवन बिताउनुपरेको धारणा राख्नुभयो ।

नेता डा लोहनीले मुलुकको परिवर्तन र सङ्कट समाधानका लागि सबै दलहरुबीच परिपक्व एकता कायम हुनुपर्नेमा जोड दिनुभयो । पार्टी केन्द्रीय कार्यसमितिको अर्काे बैठक भोलि बिहान १० बजे बस्ने सहप्रवक्ता किरण गिरीले राससलाई जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts