पोखरा, ११ पुस । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले समावेशीताका दृष्टिबाट नेपालको नयाँ संविधान विश्वमै उत्कृष्ट भएको बताउनुभएको छ ।
किरात समाज पोखराद्वारा आज यहाँ आयोजित सम्मान कार्यक्रममा उहाँले नेपालका विभिन्न जातजाति, भाषाभाषी एवम् सांस्कृतिक समुदायलाई संविधानले अधिकतम समेट्ने प्रयास गरेको बताउनुभयो ।
संविधानमा समेटिएका हक तथा अधिकारलाई उपयोग गर्नका लागि प्रत्येक वर्ग र समुदायले गम्भीरताका साथ अध्ययन गरी आफ्नो भूमिका सुनिश्चित गर्नुपर्नेमा उहाँको जोड थियो ।
“संविधान देशका १२५ जातजाति एवम् भाषाभाषीको संरक्षण, संवद्र्धन र विकासका लागि उत्कृष्ट छ”, उहाँले भन्नुभयो – “संविधान निर्माणका क्रममा जातजातिका भावनालाई अधिकतम समेट्ने प्रयासस्वरुप विभिन्न संवैधानिक आयोगको व्यवस्था गरिएको छ ।”
संस्कृतिहरू राज्यको महत्वपूर्ण सम्पत्ति भएको चर्चा गर्दै उहाँले त्यसको संरक्षणका लागि सरकार प्रतिबद्ध भएको बताउनुभयो ।
उक्त अवसरमा समाजका तर्फबाट मन्त्री राईलाई समाजका अध्यक्ष अरुणकुमार लिम्बूले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष लिम्बूले कास्की जिल्लामा पाँच हजारको सङ्ख्यामा राई लिम्बू बस्दै आएको जानकारी दिँदै यो समुदायको वृत्ति विकासका लागि समुदायका विपन्न वर्गलाई लक्षित गरी राज्यका तर्फबाट सहयोग गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सामाजिक अभियन्ता डिभी राई, समाजका वरिष्ठ उपाध्यक्ष गजेन्द्र सुब्बा, पूर्व अध्यक्ष गणेश देवानलगायतले समाजमा पिछडिएका वर्ग र समुदायको उत्थानका लागि राज्यले चासो दिनुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा मन्त्री राईले पोखरा उपमहानगरपालिका वडा नं १५ टुटुङ्गास्थित समाजको कार्यालय भवनको निरीक्षण गर्नुभएको थियो । एक रोपनी जग्गा परिसरमा निर्मित दुईतले सो भवन रु ४० लाख २९ हजार ५६० मा निर्माण गरिएको हो । रासस
No comments:
Post a Comment