भक्तपुर, २७ मङ्सिर । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सरकारले नयाँ शिक्षा नीति ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।
उहाँले नयाँ संविधानअन्तर्गत गणतन्त्र, धर्म निरक्षेपता, समावेशी समाजको आवश्यकताबमोजिम नयाँ आयोग गठन गरी विद्यमान शिक्षा नीतिलाई परिमार्जन गरी नयाँ शिक्षा नीति ल्याउने तयारी भइरहेको जानकारी गराउनुभयो ।
भक्तपुर जिल्लालाई मुलुकको बिसौँ साक्षर जिल्ला घोषणा गर्न आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली आफैँ एकजुट भई युगान्तकारी संविधान निर्माण गर्दा भारतले चित्त नबुझाई अघोषित रुपमा नाकाबन्दी गर्नु गलत भएको बताउनुभयो ।
उहाँले सरकारले अत्यन्त अप्ठ्यारो स्थितिमा काम गरिरहेको बताउँदै भन्नुभयो, “आन्तरिक मुद्दालाई संविधान संशोधनमार्फत र बाह्य समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार तयार छ ।”
उहाँले मुलुकलाई सन् २०१५ भित्र पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य पूरा हुन नसक्ने अवस्था आएकाले यसलाई गम्भीर ढङ्गले विवेचना गरिने बताउनुभयो । मुलुक अल्पविकसित मुलुकको सूचीकृत भइरहँदा अन्तर्राष्ट्रिय जगतमा लज्जाको विषय बनेको बताउँदै मन्त्री पोखरेलले संविधानको कार्यान्वयनसँगै सङ्घीयतालगायतका विषयलाई सुदृढीकरण गर्दै मुलुकको समृद्धिमा सबै तह र तप्का लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।
कार्यक्रममा सांसद रामेश्वरप्रसाद ढुङ्गेलले भक्तपुर जिल्ला शिक्षाको गन्तव्यका रुपमा विकास भइरहेको चर्चा गर्दै साक्षर भक्तपुर घोषणा सँगसँगै बाँकी रहेका निरक्षरलाई साक्षर बनाउन योजनाबद्ध ढङ्गले कार्यक्रम सञ्चालन गनुपर्ने बताउनुभयो ।
अर्का सांसद प्रेम सुवालले पुरानो पुस्तालाई साक्षर र नयाँ पुस्तालाई शिक्षित गराउनुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले ‘एक घर एक स्नातक’को नारासहित विद्यालय तथा कलेज सञ्चालन गरेको र ख्वप विश्वविद्यालय स्थापनाको दिशामा अग्रसर भइरहेको चर्चा गर्दै सरकारले छिट्टै विश्वविद्यालय स्थापनाको स्वीकृति दिनुपर्ने माग गर्नुभयो । रासस
No comments:
Post a Comment