Monday, December 28, 2015

जिम्मेवार भएर संवादमा आउन सबैलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पक्षलाई जिम्मेवार हुन र जिम्मेवारीका साथ संवादमा आउन आह्वान गर्नुभएको छ ।

मधेस आन्दोलनको समस्या खोज्न र संविधान संशोधनका लागि पेस भएको विधेयकलाई अघि बढाउन आग्रह गर्दै रिपोर्टर्स क्लब नेपालले प्रस्तुत गरेको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले मुलुक जटिल अवस्थामा रहेको बेला जिम्मेवार हुन तथा छिचरो राजनीति नगर्न सुझाव दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो– “आवेश र उत्तेजनामा होइन, गम्भीरताका साथ सोचविचार गर्न र संवादका माध्यमबाट समस्या टुङ्ग्याउन म आग्रह र अनुरोध पनि गर्दछु ।”

सङ्कट टुङ्गिने बिन्दुमा पुग्न लागेको छ

आन्दोलनका नाममा तराईले सबैभन्दा बढी पीडा खेप्नु परिरहेको बताउँदै उहाँले सघन ढङ्गबाट कुराकानी भइरहेकाले परिस्थितिमा शीघ्र सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

“समस्या टुङ्गिने बिन्दुमा पुग्न लागेको छ, सङ्कट छिट्टै समाधान हुन्छ, यदि त्यसो भएन भने पनि समस्याको मात्रा घट्छ, काम चलाउको स्थिति हुनेछ”– प्रधानमन्त्रीले भन्नुभयो ।

१०५ वर्षमा भएको भन्दा एक वर्षमा दोब्बर गर्छु

विद्युत्भार कटौती अन्त्य गर्नेलगायतका विषयमा सरकारले असाधारणरुपमा काम अघि बढाएको उल्लेख गर्दे प्रधानमन्त्री ओलीले भन्नुभयो– “विद्युत् विकासमा विगत १०५ वर्षमा गरेको भन्दा दोब्बर काम एक वर्षभित्रमा गर्नेछु ।”

संविधानमा तोकिएको सीमा मान्छु

प्रधानमन्त्रीको हिसाबले संविधानको पालना गर्ने प्रतिज्ञा गरेर आएको हुँदा संविधानले मुलुक र प्रदेशको जुन सीमा भनेको छ त्यसलाई आफूले मान्नै पर्छ भन्दै उहाँले राजनीतिक दलहरुबीच सहमतिका आधारमा यसरी अघि बढौँभन्दा त्यसमा आफ्नो कुनै आग्रह र पूर्वाग्रह नरहने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो– “हामीले अत्यन्तै लोकतान्त्रिक संस्था, लोकतान्त्रिक विधि र प्रक्रियाबाट लोकतान्त्रिक संविधान प्राप्त गरेका छौँ, यो संविधानले जनतालाई संवैधानिक हिसाबले सुदृढताका साथ सार्वभौम बनाएको छ, बहुदलीय व्यवस्था हाम्रो बाध्यता नभई रोजाइ हो भन्ने पक्षलाई सबैले बुझ्न अहिले आवश्यक छ ।”

लामो समयको प्रतिक्षा, आकांक्षा र प्रयासपछि प्राप्त भएको लोकतान्त्रिक संविधानलाई कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताउँदै प्रधानमन्त्री ओलीले एक जात, भूगोल र क्षेत्रले अर्काे जात, भूगोल र क्षेत्रलाई विरोधी र शत्रुका रुपमा प्रस्तुत गर्ने असामयिक, अनुचित र हानिकारक प्रवृत्ति देखिएको छ त्यो विल्कुलै अनुपयुक्त र अनुचित छ भन्नुभयो ।

लोकतान्त्रिक संविधानप्रति प्रतिबद्ध रहँदै समाजमा शान्ति सुव्यवस्था र लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने, असमानता र विभेदको अन्त्य गरेर सामाजिक न्याय र समानता कायम गर्ने कार्यमा सरकार दृढ छ– प्रधानमन्त्री ओलीले भन्नुभयो ।

शान्ति सुव्यवस्था र सुशासन कायम गर्दै समृद्धिको बाटोमा अघि बढ्ने सन्दर्भमा आवश्यक कदम चाल्ने बताउँदै उहाँले भन्नुभयो– “शान्ति सुरक्षामा खलल पार्ने, कानुन हातमा लिने, हिंसा मच्चाउने कार्य सरकारलाई मान्य हुँदैन ।”

जिद्दीलाई राजनीतिक मागका रुपमा बुझ्नुपर्ने जस्ता कुरालाई होसियारीका साथ हेरिएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– “हामी अब आर्थिक उन्नति, सुशासन र समृद्धिमा जान्छौँ, पारदर्शिता र लोकतान्त्रिक मूल्यमान्यता हाम्रा बाटाहरु हुन् ।”

नेपालको संविधानले दुनियाँबाट विश्वास र स्वागत प्राप्त गरिसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो– “हामी दुनियाँका मित्र हौँ, दुनियाँमा हाम्रो कोही शत्रु छैनन्, हामी सबैप्रति मैत्रीभाव राख्छौँ ।”

वैशाखअघिनै भारत र चीनको भ्रमण

एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भन्नुभयो–“आगामी वैशाखअगाडि नै भारत र चीनलगायतका मित्रराष्ट्रको मैले भ्रमण गर्ने सम्भावना देखेको छु, भ्रमण कुन देशको पहिले गर्ने भन्नेमा कुनै नियम हुँदैन, जहाँ अनुकूल हुन्छ त्यहाँ जानु स्वभाविक हो ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts