काठमाडौँ, ११ पुस । नेपाल विद्युत् प्राधिकरणले तोकेको तालिकाअनुसार विद्युत् भार कटौती नगरेको, बिग्रिएका ट्रान्सफर्मर मर्मतमा ध्यान नदिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष टोली नै गठन गरेर छानबिन सुरु गरेको छ ।
जनताले गुनासो गर्दा पनि प्राधिकरणले नसुनेको, मर्मतसम्भारमा ध्यान नदिएको, ट्रान्सफर्मर मर्मतमा ध्यान नदिएको भन्दै आयोगमा सयौँ उजुरी परेपछि आयोगले विशेष टोली गठन गरेर अनुगमन सुरु गरेको हो ।
आयोगका अनुगमन टोलीमा प्राविधिक, इन्जिनियर, सुरक्षाकर्मीको संयुक्त टोली रहेका छन् । टोलीले आजबाट पहिलो चरणमा राजधानीका तीन जिल्लाका बढी गुनासा आएका क्षेत्रको ट्रान्सफर्मर, कन्डक्टरको अवस्थाको बारेमा अध्ययन गर्नेछ ।
प्राधिकरणले दैनिक ११ घन्टा विद्युत् भार कटौती गर्ने कार्यतालिका सार्वजनिक गरे पनि राजधानीको कोटेश्वर, सुविधानगर, बालाजु, धुम्बाराही, गोंगबु, मनमैजु, कलङ्की, बलम्बुलगायतका स्थानमा विगत १५ दिनभन्दा बढी समयदेखि बत्ती आएको छैन ।
कतिपय स्थानमा आधामात्रै लाइन आउने, खाना पकाउने समयमा विद्युत् नपाएको, बत्ती मर्मत गरिदिन पटक–पटक आग्रह गर्दासमेत सुनुवाइ नगरेको भन्दै नागरिकले आयोगको ध्यानाकर्षण गराएका थिए । सयौँ नागरिकको ध्यानाकर्षणपछि आयोगले मुलुकभर नै अनुगमन गर्ने उद्देश्यले टोली गठन गरेको प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिनुभयो ।
भारतको अघोषित नाकाबन्दीपछि विद्युत्को माग अत्यधिक बढेको भन्दै प्राधिकरणले हालसम्म ५५० थान ट्रान्सफर्मर जलेको जनाएको छ । प्राधिकरणको ट्रान्सफर्मर मर्मत केन्द्रमा दैनिक दुईवटा मात्रै मर्मत हुन सक्ने अवस्था रहेको छ । कमजोरी कहाँ–कहाँ भयो, प्राधिकरणले गरिरहेको कामको अवस्था के छ, मर्मत के कति रुपमा भइरहेको छ भन्नेमा आयोगले मिहिन ढङ्गले अध्ययन गर्ने जनाएको छ ।
प्राधिकरणले आफूहरुको गुनासो सुनुवाइ नगरेको, उपभोक्ताको आधारभूत अधिकारलाई सम्मान नगरेकाले बाध्य भएर छानबिनमा निस्कनुपरेको प्रवक्ता पुष्करको भनाइ छ । राजधानीका कतिपय स्थानमा २० दिनभन्दा बढी आएको छैन ।
प्राधिकरणको ट्रान्सफर्मर मर्मत केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीले जनशक्तिको अभावमा बिग्रिएका ट्रान्सफर्मर मर्मत गर्न समस्या भएको बताउनुभयो । उहाँले दैनिक १५ वटासम्म बिग्रिएका ट्रान्सफर्मर मर्मतका लागि आउने गरेकामा दैनिक दुईवटा मात्रै मर्मत हुने गरेको छ । हालसम्म रु ३५ करोड मूल्य बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।
निजी क्षेत्रलाई मर्मतको जिम्मेवारी दिइने भनिए पनि हालसम्म दिइएको छैन । जगेडामा रहेका ट्रान्सफर्मर जडान गर्न पनि इन्धनको अभाव भन्दै प्राधिकरणका कर्मचारी मर्मत गर्न नजाने गरेको आयोगको भनाइ छ ।
प्राधिकरणले भने आफूहरुले जनशक्ति परिचालन गरेर मर्मत सम्भारमा ध्यान दिएको दाबी गर्दै आएको छ । उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले केही दिन पहिले ट्रान्सफर्मर मर्मत केन्द्रको निरीक्षण गरेर मर्मत प्रक्रियामा विशेष ध्यान दिन निर्देशन दिनुभएको थियो । रासस
No comments:
Post a Comment