महेन्द्रनगर (धनुषा), २ पुस ।
‘खूव खाउ यौ दुलहा….
खूव मोटाउ यौ दुलहा …
अप्पन चोकटल चोकटल गालके फुलाउ यौ दुलहा…’ ( अर्थात् राम्ररी खानु अनि मोटाउनु)
यस्तै सुमधुर लोक गीत सङ्गीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आज सम्पन्न भएको छ ।
भारतको अयोध्या तथा राममन्दिरबाट आएका जन्तीलाई मिथिला भोजन (रामकलेवा) तथा दक्षिणा प्रदान गरी साताव्यापी रामजानकी विवाह महोत्सव सम्पन्न भएको हो ।
बुधबार राति रामसीताको प्रतिकात्मरुपबीच मिथिला परम्पराअनुसार विवाह भएको थियो । यस अवसरमा जानकी मन्दिरलाई नव दुलही झै श्रृंगारिएको थियो । जानकी मन्दिर प्राङ्गणमा निर्मित आकर्षक मञ्चमा राम, लक्ष्मण, भरत, शत्रुघ्नको प्रतिकात्मक निर्माण गरी विधिवत पूजापाठ तथा भोजन गराइ जन्तीको विदाई गरी महोत्सव सम्पन्न भएको हो ।
मिथिलामा बेहुलालाई भोजन गराउँदा मिथलानी महिलाहरुले गीत गाउने चलन छ । गीतमार्फत बेहुला र जन्तीहरुसँग हँसीठट्ठा गर्ने चलन छ । हँसीठट्ठाको माध्यम पारम्परिक लोकगीत हुन्छ ।
बुधबार रामजानकी विवाह महोत्सवको मुख्य आयोजन भइरहँदा राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिर दर्शन गरी पुजा अर्चना गर्नुभएको थियो । गत शुक्रबारदेखि सुरु भएको रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन आज रामकलेवा भएको हो । रामकलेवापछि रामजानकी विवाह महोत्सव विधिवत सम्पन्न भएको, जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment