दाङ ३ पुस । राष्ट्रिय समाचार समिति(रासस) का अध्यक्ष कुलचन्द्र वाग्लेले अहिलेको पत्रकारितामा गुणात्मक सुधार गर्नुपर्ने थुप्रै ठाउँहरु भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब, दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष वाग्लेले मिसन पत्रकारिता पहिलेको जस्तो नभएको समेत बताउनुभयो । “आजको आवश्यकता पनि मिसन पत्रकारिता हो तर अहिलेको मिसन पत्रकारिता पहिलेको जस्तो छैन यसमा सुधार गर्नुपर्ने धेरै छ” उहाँले भन्नुभयो ।
उहाँले अहिलेको पत्रकारिता स्वतन्त्र, सुधारोन्मुख भएको बताउँदै पत्रकारिताको माध्यमबाट राष्ट्रलाई सकारात्मक परिवर्तन गर्न सकिने बताउनुभयो । एकजना पत्रकारले गल्ती गरेमा सिङ्गो समाजलाई नकारात्मक प्रभाव पर्ने हुँदा पत्रकारहरु आफ्नो पेसाप्रति संवेदनशील भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष वाग्लेले संविधान संशोधनले कैयौँ असन्तुष्ट आवाजहरुलाई समेट्न सक्ने भएकाले अब मुलुक आर्थिक विकासको बाटोमा लाग्ने धारणा व्यक्त गर्नुभयो ।
सोही अवसरमा वरिष्ठ पत्रकार एवम् नागरिक समाज, दाङका संयोजक टीकाराम रेग्मीले पत्रकारहरुमा कर्तव्य परायण, निष्ठा, इमान्दारितालगायतका गुण हुनुपर्दछ भन्नुभयो ।
राष्ट्रिय समाचार समिति, राप्तीका प्रमुख नारायणी रजौरे तथा रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले रासस अध्यक्ष वाग्ले र प्रशासन प्रमुख सोमनाथ लामिछानेलाई अभिनन्दन तथा स्वागत गर्नुभएको थियो । रासस
No comments:
Post a Comment