Monday, December 28, 2015

समुदायको अगुवाइमा सामुदायिक पुनर्निर्माण कार्यक्रम

मेलम्ची, १३ पुस । सिन्धुपाल्चोकको पश्चिमी हिमाली गाविसमा भूकम्पअघि र पछि सक्रिय भएर सहयोग गर्दै आइरहेको एक्सन एड नेपाल र सामुदायिक आत्मनिर्भरता केन्द्रको सहकार्यमा समुदायको अगुवाइमा सामुदायिक पुनःनिर्माण कार्यक्रम सुरु गरेको हो ।

जिल्लाको हिमाली गाविस हेलम्बु, किउल, इचोक, महाँकाल र तालामाराङ गरी पाँच गाविसमा उक्त कार्यक्रम सुरु गरेको एक्सन एड नेपालका कार्यक्रम संयोजक उमानसिँह गुरुङले बताउनुभयो ।

भूकम्पपछि यी पाँच गाविसमा सक्रिय भएर लागेको उक्त दुई संस्थाले पहिलो चरण राहत वितरणदेखि लिएर अहिले नयाँ कार्यक्रम पुनःनिर्माणअन्तर्गत उक्त गाविसमा अस्थायी आवास निर्माणमा लागिपरेको सामुदायिक आत्मनिर्भरता केन्द्रका परियोजना संयोजक र उक्त कार्यक्रमको संयोजन गर्नु हुने कुमार थापाले बताउनुभयोे ।

हेलम्बु, किउललगायतका पाँच गाविसमा चार हजार ३४५ घरधुरीलाई पुनःनिर्माण कार्यक्रमअन्तर्गत निर्माण सामग्री हाते आरो, किला, हम्मरलगायतका सामग्री वितरण गरेको थियो । अस्थायी घर निर्माणका लागि तालामाराङ इचोक र किउल गाविसका दुई हजार ६०० घरपरिवारलाई नेपाल सरकारले भूकम्पपश्चात् अस्थायी घर निर्माणका लागि दिएको १५ हजारबाहेक छुट्टै प्रतिपरिवार रु १५ हजारका दरले रु तीन करोड ९० लाख रुपैयाँ महिलाको नाममा वितरण गरेको हो ।

उक्त दुई संस्थाको सहकार्यमा सञ्चालन भएको पुनःनिर्माण कार्यक्रममार्फत तालामाराङको कोलेचौर र जागेश्वरी, महाँकालको भञ्ज्याङ र पद्मेश्वरी, किउलको चित्रे र सेतीदेवी, हेलम्बुको देउराली र सर्कथली र इचोक गाविसको महेन्द्र माध्यमिक विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र एवम् अस्थायी शिक्षण केन्द्र निर्माण गरेकाले उक्त शिक्षण केन्द्रबाट दुई हजार ८०० विद्यार्थी लाभान्वित भएको उक्त गाविसका बासिन्दा बताउँछन् ।

त्यसैगरी तालामाराङको चापवोट, महाँकालको मराम्ची, इचोकको मानेडाँडा र हेलम्बुको तिम्बुमा महिला सुरक्षित गृह निर्माण गरेकाले महिलामा चेतनामूलक कार्यक्रम जस्तै महिला हिंसा, मानसिक यातना आदिका बारेमा जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

महिला सुरक्षित गृह निर्माण भएपछि दैनिक सञ्चालन हुने महिला अधिकारका बारेमा केही जान्ने अवसर पाएकाले पहिलेको तुलनामा आफूहरु निकै ज्ञानगुनका कुरा सिक्ने अवसर पाएको तालामाराङ गाविसका महिला पासाङ डोल्मा तामाङले बताउनुभयो । उक्त महिला सुरक्षित गृहबाट २३३ महिला प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

विपद्को समयमा सबैभन्दा अघि एक्सन एड नेपाल र सामुदायिक आत्मनिर्भर केन्द्रले गरेको सहयोग र अहिले अस्थायी टहरा निर्माणका लागि रु १५ हजार दिएर गरेको सहयोगप्रति निकै भएको हिमाली गाविस किउल–४ का होमबहादुर भण्डारीले बताउनुभयो ।

त्यस्तै उक्त संस्थाले गरेको सहयोगप्रति खुसी हँुदै उक्त गाविसका महिला पेमाडोल्मा तामाङले भन्नुभयो–“बस्ने ठाउँ नहँुदा ओत बस्ने ठाउँ बनाइदिनुभयो यसले धरै खुसी भएका थियौँ । अहिले गर्मीमा धेरै गर्मी जाडोमा धरै जाडो हुन्छ । ११ महिनाको छोरा छ चिसोले पटकपटक बिमारी भइरहन्छ अस्पतालका लागि पनि निकै टाढा पुग्नुपर्र्छ शीतले ओछ्यान पूरै भिज्छ के गर्नु आश धेरै नगर्नु भन्छन्, आर्थिक अवस्था कमजोरको कारण तत्काल स्थायी घर निर्माण गर्न सकिँदैन अब यस संस्थाले प्रतिस्थायी घरको आशा रहेको छ ।”

गर्मी महिना पनि कटायौँ, अब चिसो महिना पनि सकसका साथ काट्दैछौ, अब फागुन १५ बाट चल्ने हुरीले कारण टहरा नै उडाउँछ अब के गर्ने भन्ने डरमा दिन बिताउनु परेकाले उक्त संस्थाप्रति स्थायी घरको अपेक्षा बढेको उक्त गाविसका सोमार तामाङले बताउनुभयो । अस्थायी आवास निर्माणले आफ्नो टाउको लुकाउने ठाउँ भएकाले अब छिटोभन्दा छिटो स्थायी घर निर्माणमा सरकार र जुन कुनै संस्थाले ध्यान दिनुपर्नेमा हेलम्बुका–८ का युगबहादुर सुनार भन्नुहुन्छ, “यस्तो किसिमको कार्यक्रम आए आफूपनि मरिमेटेर लागिपर्नेछु ।”

हेलम्बु गाविसमा अहिले पनि एक्सन एड र सामुदायिक आत्मनिर्भर केन्द्रले चिसो धरै हुने हेलम्वु गाविसमा जस्ता, कम्बललगायतका राहत सामग्री वितरण गरेकाले सिङ्गो हेलम्बुवासी लाभान्वित भएको हेलम्बुका गाविस सचिव नारायणप्रसाद पौड्यालले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts