Friday, December 25, 2015

संस्कृति संरक्षण र अन्नको महत्व दर्शाउन सामूहिक ‘धान पूजा’

चितवन, १० पुस । चितवनको भरतपुरस्थित उज्ज्वल नगर र देवनगरका स्थानीय किसानले संस्कृति संरक्षण र अन्नको महत्व दर्शाउन आज नौलो कार्यक्रम गरेर ‘धान पूजा’ गरेका छन् । आज धान्य पूर्णिमासमेत भएकाले त्यसै अवसरमा पूजा गरिएको हो ।

वर्षौंदेखि धानको पूजा गर्दै आए पनि प्रचार नहुँदा महत्वसमेत हराउँदै गएको महसुस गरेर आज यहाँ पत्रकार भेटघाटकै आयोजना गरी धुमधामले धान पूजा गरिएको हो । स्थानीय गाउँलेले नजिकै रहेको दक्षिणकाली सामुदायिक वनको परिसरमा रहेको दक्षिणकालिका देवी पाञ्चायन मन्दिरमा भेला भएर सामूहिक धान पूजा गरेका हुन् । “अन्न बिना मानव शरीर बाँच्न कठिन हुन्छ, त्यसैले हामीले अन्नको प्रतीक धानको पूजा गरेका हौँ”, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बैजनाथ देवकोटाले भन्नुभयो ।

अन्न देवताका रुपमा धानलाई पुजेर यहाँ आज धान्य पूर्णिमा मनाइएको हो । धानलाई अन्नपूर्ण देवताका रुपमा समेत पुज्ने चलन रहेको स्थानीयवासीले बताए । यहाँ २०२२ सालमा योगी नरहरिनाथका चेला पण्डित ज्योतिष रमाकान्त रिजालले देवी स्थापना गरेर पूजाको चलन बसालेका हुन् ।

सोही बेलादेखि अन्नमध्येको मुख्य अन्न धानको पूजा गर्दै आइएको र अहिले यो पुरानो संस्कृति हराउन लागेजस्तो लागेर पत्रकारलाई बोलाएको उहाँका छोरा होमनाथ रिजालले बताउनुभयो । ‘यो हाम्रो मौलिक परम्परा हो, मानवजीवनमा अन्न नभई हुँदैन, त्यसैले यसको पूजा गर्नाले अन्नको अभावमा मान्छे मर्नु पर्दैन’ भनेर प्रकृति देवतासँगै धानको पूजा गर्न लागिएको रिजालले बताउनुभयो ।

आज उक्त मन्दिरमा स्थानीयवासी सहभागितामा कार्यक्रम भएको थियो, जसमा महिलाको सङ्ख्या उल्लेख्य रह्यो । घरघरबाट पाथीपाथी जम्मा गरेर धानको रास (थुप्रो)मा उनीहरुले पुजारीमार्फत विधिपूर्वक फूल चढाएर पूजा गरेका थिए । गाउँलेले भजनकीर्तन पनि गरे । धानको महत्वबारे दर्शाए । उक्त पूजा गर्न सङ्कलित धानबाट आउने आम्दानी भने मन्दिर व्यवस्थापन र संरक्षणमा खर्च गर्ने गरिन्छ । कामाख्य मन्दिरका पुजारी धनेश्वर सापकोटा अन्न देवताको मर्यादाका लागि पूजा गरेको उल्लेख गर्दै पूजा गर्नाले मानव जीवनलाई अनिकाल नलाग्ने बताउनुभयो ।

उहाँले अन्नमध्येको महान् अन्न धान मानिने भएकाले सबै अन्नलाई प्रतीक मानेर धानको पूजा गरिएको बताउनुभयो । पूजामा सहभागी स्थानीयवासी हेमराज रिजालका अनुसार मानव जीवनलाई अनिकाल नलागोस्, दैवीप्रकोप नियन्त्रण होस्, वातावरण शुद्धि र आपसी सौहार्दता बढोस् भनेर धान पूजा गर्ने परम्पराको थालनी गरिएको हो । यहाँ विभिन्न धार्मिक पर्वमा मेला तथा पूजासमेत हुने गरेको उहाँको भनाइ छ ।

विसं २०४२ मा तत्कालीन वडाध्यक्ष रामनाथ तिवारीले प्रकृति र अन्नपूर्णको प्रतीकका रुपमा यहाँ सुरुआत गरिएको धान पूजाको महत्व हराउँदै गएकाले स्थानीयवासी सामूहिक भेला भएको पत्रकारलाई जानकारी दिनुभयो ।

स्थानीय लेक २० हजार फार्म रिसोर्टका सञ्चालक देवु लोहनीले धान पूजाले धानको महत्व दर्शाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता परम्परा र संस्कृतिको जगेर्ना आवश्यक भएको धारणा प्रकट गर्नुभयो । आफ्नै गाउँमा सुरु भएको धान पूजा कार्यक्रम सफल बनाउन आफ्नो तर्फबाट भरपुर सहयोग प्रदान गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । उहाँले यो कार्यक्रमलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभयो ।

चितवनको गीतानगरसँग जोडिएको देवनगर र उज्ज्वल नगर धान उत्पादनका दृष्टिले महत्वपूर्ण छ । यहाँ उत्पादित धानमध्ये ३५ प्रतिशत माथि अन्य छिमेकी जिल्लाको अन्न पूर्ति गर्न जाने गरेको छ । जग्गा प्लटिङ कम रहेको सो क्षेत्र धानखेतीका लागि उर्वर छ । स्थानीय बरण्डाभार व्यवस्थापन समितिका अध्यक्ष देवराज सापकोटाले धान उत्पादनका लागि यो क्षेत्र उर्वर भूमि भएको बताउनुभयो । उहाँले प्लटिङ व्यवसाय रोक्न सरकारले ध्यान दिनुपर्ने पनि बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts