रुपन्देही, १० पुस । इँट्टा उत्पादनका लागि आवश्यक कोइला (इन्धन)को अभावमा रुपन्देहीका इँट्टा उद्योगको उत्पादन ठप्प भएको छ ।
चार महिनादेखिको मधेस आन्दोलन र त्यसलगत्तै भारतले गरेको नाकाबन्दीका कारण कोइला भित्र्न नपाउँदा व्यवसायीले इँट्टा पोल्न नपाएको गुनासो गरेका छन् । असोजदेखि वैशाखसम्मलाई इँट्टा उत्पादन गर्ने याम मानिन्छ ।
लुम्बिनी इँट्टा उद्योग व्यवसायी सङ्घका अध्यक्ष विष्णु कार्कीले व्यवसायीले तयार पारेको करिब ६५ लाख काँचो इँट्टा इन्धन अभावले जोखिममा परेको बताउनुभयो । “कोइलाको अभावले असोजदेखि काँचो इँट्टा पोल्न पाइएको छैन,” उहाँले भन्नुभयो, “अझै यही अवस्था २०÷२५ दिनसम्म जारी रहे सबै इँट्टा कामै नलाग्ने गरी बिग्रिने छन् ।” काँचो इँट्टा चार महिनाभित्र पोल्न नपाए बिग्रिने उद्योगी बताउँछन् । इँटा पोल्न नपाउँदै वर्षा भएमा सबै इँट्टा कामै नलाग्ने गरी बिग्रिने अध्यक्ष कार्कीको भनाइ छ ।
इँट्टा उद्योगलाई कोइलासँगै ठूलो परिमाणमा दाउरा पनि आवश्यक पर्छ । अहिले दाउराको मूल्य पनि आकाशिएकाले व्यवसायी थप मर्कामा परेका छन् । यही अवस्था लामो समयसम्म रहे जिल्लामा इँट्टाको अभाव हुने सङ्घको भनाइ छ । नेपाली इँट्टा उद्योगका लागि आवश्यक पर्ने सबै कोइला भारतलगायत तेस्रो मुलुकबाट पनि आउने गरेको छ ।
जिल्लाका ५० वटा उद्योगले अहिले १२ लाखका दरले काँचो इँट्टा तयार पारेका छन् । मनकामना इँट्टा उद्योगका सञ्चालकसमेत रहेका कार्कीले एउटा उद्योगलाई ४०० टन कोइला आवश्यक पर्ने भए पनि अहिले भारतबाट मालवाहक गाडी नेपाल नभित्रिएको जानकारी दिनुभयो ।
जिल्लाका उद्योगले प्रत्येक वर्ष एक करोड २५ लाख इँट्टा उत्पादन गर्ने गरेका थिए । जिल्लामा ठूला ३० र साना २० वटा इँट्टा उद्योग रहेको सङ्घले जनाएको छ । सङ्घका सचिव अजय अधिकारीले करिब ५० भन्दा बढी कोइला बोकेका मालवाहक गाडी वीरगन्ज÷सुनौली नाकामा थन्किएका बताउनुभयो ।
गत वर्ष वेमौषमी वर्षाले जिल्लाका इँट्टा उद्योगीलाई करिब रु २० करोड नोक्सान भएको थियो । “अहिले फेरि भारतीय नाकाबन्दीले कोइला भित्रिन नपाउँदा सबै व्यावसायीको काम ठप्प छ” उहाँले भन्नुभयो । जिल्लाका एउटा उद्योगले वार्षिक २५ लाखभन्दा बढी इँट्टा तयार गर्ने गर्छन । विगतका वर्षमा नयाँ इँट्टा उत्पादन गर्न भ्याइनभ्याइ हुने रुपन्देहीका उद्योग अहिले भने ठप्प छन् ।
उद्योगले असोज अन्तिम सातादेखि कामदार ल्याउने गरेका छन् । तर अहिले मजदुरलाई काममा लगाउन नसक्दा कामबिना नै तलब दिनुपर्ने अवस्था रहेको व्यवसायीले बताएका छन् । जिल्लाका इँटा उद्योगमा ५०० भन्दा बढी मजदुर कार्यरत रहेका छन् । जिल्लाका इँट्टा उद्योगमा व्यवसायीले रु दुई अर्बभन्दा बढी लगानी गरेका छन् । रासस
No comments:
Post a Comment