काठमाडौँ, १६ पुस । संविधान संशोधन प्रक्रियालाई असन्तुष्ट पक्षको भावना समेटेर अगाडि बढाउँदा मुलुकले भोग्नुपरेको समस्या समाधान हुने विचार सांसदहरुले व्यक्त गर्नुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि धारणा राख्दै उहाँहरुले जनताको प्रतिनिधिले निर्माण गरेको मुलुकको मूल कानुन छोटो समयमा नै संशोधन हुनु दुःखद भए पनि सबै पक्षको भावनालाई समेटेर अगाडि बढ्दा सहज हुने बताउनुभयो ।
संविधानमा समावेश भएका विषयलाई राम्रोसँग प्रचार प्रसार नगर्दा समस्या थप भएको, मुलुकले आर्थिक, सामाजिक समस्या भोग्नुपरेको भन्दै उहाँहरुले अपुग भएका विषयलाई क्रमशः थप गर्दै समुन्नत बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँहरुले संविधान धर्मग्रन्थ नभएकाले समय क्रमसँगै संशोधन हुने भएकाले धेरै असन्तुष्ट नबन्न मधेसवादी दललाई आग्रह गर्नुभयो ।
संविधान गतिशील दस्तावेज भएकाले संशोधन गर्दै जानुपर्ने, मधेस केन्द्रित दलका चित्त बुझाउन सक्नुपर्ने, राजनीतिक सहमतिमा समस्याको समाधान गर्नुपर्ने उहाँहरुको कथन थियो ।
सांसदहरुदले प्रजातन्त्रमा हिंसाको स्थान नहुने भए पनि तराई मधेसमा मारकाट जारी हुनु र बालबालिका विद्यालय जान नसक्ने अवस्था हुनु दुःखद भएको बताउनुभयो ।
यस्तै सांसदहरुले राष्ट्रिय पार्टी बन्न कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान पनि संशोधनमा समावेश गर्नुपर्ने धारणा राख्नुभएको थियो । किसान र मजदुरलाई अधिकारसम्पन्न बनाउनुपर्ने, ती वर्ग तथा समूहलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्ने तर्क गर्दै उहाँहरुले जात तथा समूहको कुरा गर्दा वर्गीय कुरा छाड्न नहुने बताउनुभयो ।
सांसदहरुले तस्करी र कालोबजारी रोक्न नसकेको, भूकम्पपीडित जनता राहत नपाएर अकालमा ज्यान गुमाउन बाध्य भएको, सरकारले समस्या समाधानमा ध्यान नदिएको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभएको थियो । सधैँ राजनीतिक विषयमा समेत अल्झिएर बस्ने प्रवृत्तिले मुलुक कहिले आर्थिक समृद्धिको दिशामा जान्छ भन्दै उहाँहरुले प्रश्नसमेत गर्नुभएको थियो ।
यसरी धारणा राख्ने सांसदहरुमा गीता क्षेत्री, रामचन्द्र पोखरेल, श्यामकुमार श्रेष्ठ (काभ्रेपलान्चोक), अनारकली मिया, कौशल साह, गीता वाग्ले, राधेश्याम अधिकारी, लालबाबुप्रसाद यादव, विदुरप्रसाद सापकोटा, रामवीर मानन्धर, मुक्तकुमारी यादव, हरिप्रसाद उप्रेती, मानप्रसाद खत्री, गणेशकुमार पहाडी, रामनारायण बिडारी, अनुराधा थापा मगर र शिवचन्द्र चौधरी हुनुहुन्थ्यो ।
व्यवस्थापिका–संसद्को अर्को बैठक यही पुस १९ गते बिहान ११ः०० बजे बस्नेछ । रासस
No comments:
Post a Comment