Monday, December 21, 2015

भूकम्पपीडितलाई तत्काल राहत दिन प्रमसँग माग

भक्तपुर, ६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले भूकम्पपीडितलाई तत्काल राहत वितरण गर्न सरकारसँग माग गरेको छ ।

राप्रपा भक्तपुरका अध्यक्ष सुरेन्द्रप्रताप शाहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आएको करिब २०० जनाको समूहले प्रजिअ तोयम रायामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । भूकम्प आएको आठ महिना बितिसक्दा पनि भूकम्पपीडितले सरकारले निर्धारण गरेको राहत रकम पाउन नसक्दा घर बनाउन नपाएको भन्दै एक महिनाभित्रै तत्काल रु दुई लाख राहत रकम वितरण गर्न माग गरिएको छ । भूकम्पपीडितको घर पुनःनिर्माण गर्न रु दुई लाख अपुग भएकाले थप रु तीन लाखसमेत सरकारले तत्काल दिनुपर्ने माग गरिएको छ ।

त्यसैगरी भारतीय नाकाबन्दीको बहानामा बढ्दो कालोबजारी र महँगी नियन्त्रण गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ रायाले ज्ञापनपत्र आजै प्रधानमन्त्री ओलीसमक्ष पु¥याइने बताउनुभएको थियो ।

ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभामा राप्रपाका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह, राप्रपा नगरकोट नगरसमितिका संयोजक धनबहादुर लामा र राप्रपाका जिल्ला अध्यक्ष शाहले सरकारले कालोबजारी नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने बताउनुभयो । यसअघि राप्रपाले भक्तपुरको मूलढोकाबाट कालोबजारी र महँगीविरुद्ध पदयात्रा गरेको थियो ।

स्वास्थ्य चौकीलाई औषधि, भूकम्पपीडितलाई कपडा
भारतीय नाकाबन्दीका कारण औषधिको अभाव भएपछि मानवीय आस्था नेपालले जिल्लाको मध्यपुरथिमि नगरपालिका वडा नं १६ स्थित लोकन्थली उपस्वास्थ्य चौकीलाई रु दुई लाख ६० हजार बराबरको औषधि प्रदान गरेको छ ।

मानवीय आस्थाका संरक्षक तथा नेकपा(एमाले)का नेता महेश बस्नेतले उपस्वास्थ्य चौकीका प्रमुख सुधीर बानियाँलाई विभिन्न रोगका ३८ प्रकारका औषधि हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा २५ दृष्टिविहीनलाई चामल र जाडोका लागि न्यानो लत्ताकपडा तथा ३० दलित परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरियो ।

सोही संस्थाले एनआरएन लक्जम्बर्गको सहयोगमा भूकम्पबाट घर भत्किएपछि अस्थायी शिविरमा बस्दै आएका पीडितलाई न्यानो कपडा, कम्बल, जस्तापाता र चामल वितरण गरेको छ ।

आजै सूर्यविनायकमा आयोजित कार्यक्रममा संस्थाका संरक्षक एवम् नेता बस्नेतले जिल्लाका एक महिनादेखि १० वर्ष उमेर समूहका ४०० बालबालिकालाई जाडो महिनामा लगाइने न्यानो कपडा वितरण गर्नुभयो ।

उहाँले भूकम्पपछि जस्ताको टहरामा बस्दै आएका ९० वृद्धवृद्धालाई न्यानो कम्बल, त्रिपाल तथा पालमा बस्दै आएका ५० परिवार भूकम्पपीडितलाई जस्ताको टहरा बनाउन प्रतिपरिवार एक बन्डलका दरले ५० बन्डल जस्ता वितरण गर्नुभयो ।

कार्यक्रममा शारीरिक अपाङ्गता भएका ११ भूकम्पपीडितका परिवारलाई एक÷एक बोरा चामल वितरण गरेको छ । मानवीय आस्थाका महासचिव रवीन्द्र सापकोटाले एनआरएनए लक्जम्बर्गको करिब रु सात लाख बराबरको सहयोगमा राहत वितरण गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा एनआरएन लक्जम्बर्गका उपाध्यक्ष रमाकान्त शर्माले विदेशमा रहेका नेपालीबाट नेपालका भूकम्पपीडितका लागि सहयोग जुटाएको बताउनुभयो । भूकम्पपछि स्थापना भएको सो संस्थाले हालसम्म भक्तपुरका भूकम्पपीडितका लागि रु दुई करोड भन्दाबढीे राहत वितरण गरिसकेको संस्थाका अध्यक्ष श्रीकुमार रञ्जितले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts