काठमाडौं, ५ पुस । एकीकृत नेकपा(माओवादी)ले पार्टीलाई सशक्त र प्रभावकारी बनाउने उद्देश्यले छ महिने सङ्गठन सुदृढीकरण योजना ल्याउने भएको छ ।
विभिन्न ढङ्गले छुट्टाछुट्टै पार्टी बनाएका तर माओवादलाई मान्ने शक्तिलाई समेत एकताको प्रक्रियामा ल्याउने उद्देश्यका साथ सङ्गठन सुदृढीकरणको योजना ल्याउन लागेको हो ।
प्रारम्भिक चरणमा आगामी जेठसम्मलाई केन्द्रित गरी पार्टीको सङ्गठन सुदृढीकरण योजना ल्याइएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
विगतमा टुटफुट भएर गएका तथा विभिन्न रुपमा रहेका माओवाद मान्ने पार्टी तथा शक्तिलाई एकताको प्रक्रियामा ल्याउने तथा आन्तरिक रुपमा सशक्त बन्ने ध्येयका साथ नयाँ कार्ययोजना ल्याउन लागिएको उहाँको कथन छ ।
गत मङ्सिर १५ गतेदेखि सुरु भएको एमाओवादी केन्द्रीय समितिको बैठकमा नेताले पार्टीको सुदृढीकरण कार्ययोजना ल्याउन, संविधानसभाबाट जारी भएको संविधानको सहज कार्यान्वयनसम्बन्धी योजना ल्याउन आग्रह गरेका थिए । संविधानले मुलुकमा सात प्रदेश बनाएकाले प्रादेशिक संरचनाअनुसार पार्टीको संरचना निर्माण गर्नुपर्ने उहाँहरुको जोड थियो ।
एमाओवादीले प्रदेशको संरचनाका आधारमा पार्टीको संरचना तयार गर्ने तयारी गरेको छ । प्रदेशको जिम्मा स्थायी समिति सदस्य वा वरिष्ठ पोलिटब्युरो सदस्यलाई दिने एमाओवादीको भनाइ छ । एमाओवादीले यसअघि नै राज्य समिति भङ्ग गरिसकेका सन्दर्भमा नयाँ आधारमा संरचना निर्माण गर्न लागिएको हो ।
तराई मधेसमा केन्द्रिकृत तथा विकेन्द्रीत रुपमा पार्टी प्रशिक्षण, भेला, संविधानमा भएका सकारात्मक तथा जनताका विषयलाई प्रचारप्रसार गर्ने, अपुग भएका विषयलाई संशोधनका माध्यमबाट अगाडि बढाउने निर्णयसमेत गरेको छ ।
पार्टीका नेताले उठाउनुभएको प्रश्नको जवाफ दिँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिँदै पार्टीलाई आगामी दुई वर्षभित्र एक नम्बरको बनाउने र त्यसमा पार्टीका नेता तथा कार्यकर्ताको प्रमुख भूमिका रहनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पार्टीलाई लान्छना लगाएर बाहिरिनेले नेपाली जनताको भावना, सहिद तथा बेपत्ता नागरिकको भावनालाई लत्याएको भन्दै पार्टीलाई सुधार गरेर उनीहरुलाई जवाफ दिनुपर्ने बताउनुभयो ।
उहाँले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ता तरङ्गित नभई पार्टी काममा लाग्न र जनताको सेवा गर्न निर्देशन दिनुभयो । सरकारमा रहेका मन्त्रीलाई पनि विधि प्रक्रिया र सरकार सञ्चालन समन्वय समितिको आवश्यक परामर्शका आधारमा मात्रै अगाडि बढ्नसमेत निर्देश गर्नुभयो ।
प्रवक्ता शर्माले जारी केन्द्रीय समितिको बैठकमा अभूतपूर्ण एकताको सम्प्रेषण भएको जानकारी दिँदै पार्टीलाई पहिलेकै स्थितिमा ल्याउन एकजुट भएर जानुपर्छ भन्ने अध्यक्षको प्रस्तावमा सबै केन्द्रीय सदस्यले त्यसैअनुरुपमा मनन गर्नुभएको बताउनुभयो ।
प्रवक्ता शर्माले अध्यक्ष दाहालले पार्टीको आगामी महाधिवेशनमा जाने, जन परिचालन गर्ने, मुलुकभर कार्यशाला चलाउने, पार्टी स्कुलिङ विभागलाई प्रभावकारी बनाएर मुलुकभर नै प्रशिक्षण चलाउने प्रस्ताव पेस गर्नुभएको उल्लेख गर्नुभयो ।
प्रारम्भिक चरणमा जेठसम्मको कार्यक्रम आएको र त्यसको कार्य विभाजन भोलिको बैठकले निर्णय पनि भएको उल्लेख गर्दै उहाँले अध्यक्षको राजनीतिक प्रतिवेदन पनि सोमबार बस्ने बैठकले नै पारित गर्ने प्रवक्ता शर्माको भनाइ थियो । रासस
No comments:
Post a Comment