काठमाडौँ, ८ पुस । प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मध्यमाञ्चल महिला फुटबल टोलीले भारतको सिक्किम महिला फुटबल टोलीलाई पराजित गरेको छ ।
भद्रकालीस्थित जङ्गीअड्डा परिसरमा भएको उक्त प्रतियोगितामा मध्यमाञ्चलले भारतको सिक्किमलाई ७–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
मध्यमाञ्चलका लागि रविना महर्जनले खेलको पहिलो हाफको २९ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलिन् । त्यस्तै, सुमित्रा योञ्जनले खेलको ३४ र ७७ औँ मिनेटमा दुई गोल गरिन् भने मनिषा राउतले खेलको ७९ औँ मिनेट एक गोल थपिन् ।
त्यसैगरी, निशा थोकरले खेलको ८०औँ मिनेट र मुना तामाङले खेलको दोस्रो हाफको अतिरिक्त समय (९० प्लस २ मिनेट) मा एक एक गोल थपे । पश्चिमाञ्चलका लागि सिक्किमकी खेलाडीले एक आत्मघाती गोल गरेकी थिइन् ।
सिक्किमको लागि भने खेलको ५८ औँ मिनेटमा हान्ना राईले एक सान्त्वना गोल फर्काएकी थिइन् । त्यसैगरी, सोही प्रतियोगिताअन्तर्गत आजै भएको अर्को खेलमा नेपाल प्रहरी क्लबले भारतको विहार महिला फुटबल टोलीलाई ४–० गोलअन्तरले पाखा लगाउँदै विजयी भएको छ ।
प्रहरीको जितमा निरु थापाले ह्याट्रिक पूरा गरिन् । उनले खेलको ३, ७१ र ७८ औँ मिनेटमा तीन गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । त्यस्तै, प्रहरीकी अर्की खेलाडी यशोदा लामाले खेलको १२ औँ मिनेटमा एक गोल थपेकी थिइन् ।
नकआउटका आधारमा खेलाइएको उक्त प्रतियोगितामा विजेता टोलीले रु तीन लाख प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु एक लाख पाउने छन् ।
त्यसैगरी सेमिफाइनलमा पुग्ने दुई टोलीले समान रु ५०÷५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एक खेलाडीले यामाहा कम्पनीको एक थान स्कुटर प्राप्त गर्नेछन् । रासस
No comments:
Post a Comment